भक्तपुर, १२ असोज– भक्तपुरमा पहिरोमा पुरिएर गर्भवती महिलासहित तीन जनाको मृत्यु भएको छ ।
सूर्यविनायक नगरपालिका–९ पलाँसेस्थित एक टहरोमा पहिरो खस्दा उक्त घटना भएको हो । मृत्यु हुनेमा कालिकोट घर भई उक्त स्थानमा बस्दै आएकी २४ वर्षीया दमिला शाही, उनकी छोरी ४ वर्षीया प्रिया बम र १४ वर्षीया मनिषा शाहीको मृत्यु भएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
दमिला गर्भवती रहेको उनले बताए । थापाका अनुसार सशस्त्र प्रहरीको टोलीले पहिरोबाट तीनै जनाको शव निकालेको छ ।