काठमाण्डु, १२ असोज- प्रधानमन्त्री केपी ओलीले अमेरिकाबाट देशैभर अविरल बर्षा तथा बाढी, पहिरोले जनधनमा क्षति भएका खबर सुनिरहेको बताएका छन् । ओलीले सामाजिक सन्जालमार्फत भर्खरै मात्र आफूले गृहमन्त्री रमेश लेखकसंग टेलिफोनमा कुरा गरेर क्षतिको सबै विवरण लिएको बताए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका विपद् उद्धार टोलीलाई पूर्ण क्षमताका साथ, उद्धार साधनसहित खटाइएको ओलीले बताए । उनले केही ठाउँमा उद्धारमा ढिलाइ भएको उल्लेख गरे । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पनि जिम्मेवारीपूर्वक उद्धारको काम अघि बढाउन ओलीले निर्देशन दिए । मौसमविद्हरुका अनुसार आज पनि वर्षा हुने भन्दै उनले उद्धारका लागि परिचालित सुरक्षाकर्मीलाई सहयोग गर्न अपिल गरे । भेल, बाढी र पहिरोको जोखिम नहुने ठाउँमा सतर्कता अपनाएर बस्न ओलीले भनेका छन् । विपत्ति सबैको साझा चुनौती भएकाले मिलेर सामना गर्न ओलीले आग्रह गरे । संयुक्त रास्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका ओली १४ असोजमा मात्र स्वदेश फर्कनेछन् ।