काठमाण्डु, ५ असोज– सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले मुलुकमा बेइमानहरु बढ्दै गएको दाबी गरेका छन । आज शनिबार नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गरेको बेरुजु फछ्र्यौट सम्बन्धि कार्यशाला गोष्ठिमा बोल्दै सभापति पोखरेलले यस्तो बताएका हुन ।
उनले सबै प्रमाण र तथ्य हुँदा समेत कारबाही गर्न बहुमतको कारण नसक्ने अवस्था रहेको पनि बताएका छन । उनले अहिले मुलुकमा बेइमानहरुको बहुमत भएको उल्लेख गर्दै प्रमाण,कागज र कानून स्पष्ट हुँदा पनि केही गर्न नसक्ने अवस्था आएको समेत बताएका छन ।
उनले टेलिभिजनमा क्रान्तिकारी कुरा गर्ने र भित्र गएर निर्णय गरिस् भने तेरो व्यवस्था गर्छु भन्ने चेतावनी दिने गरेको समेत बताएका छन । उनले बेरुजु राख्ने सरकारी निकायका जिम्मेवार अधिकारीको घर खेतबाट बेरुजु असुल उपर गर्नुपर्ने पनि बताएका छन ।
उनले कुनै एक जना मन्त्रालय मातहतको विभागको महानिर्देशकले टेण्डर,ठेक्का लगाउँछ, सूचना निकाल्ने,टेण्डर स्वीकृत गर्ने, मूल्याङकन गर्ने, कामको रेखदेख गर्ने,मूल्याङ्कन गरेर प्रतिवेदन बनाउने, स्वीकृत गर्ने,चेक काट्ने आफैँ गर्ने र बेरुजु निर्माण व्यवसायीको बनाउने काम गलत भएको पनि बताएका छन ।
उनले सबै काम संस्थाको अधिकारप्राप्त व्यक्तिले गर्ने अनि बेरुजु आएपछि निर्माण व्यवसायीको टाउकोमा राख्ने कामले देश सुधार गर्ने नसकिने बताए । उनले जसका नाममा चेक काटेको छ त्यसको नाममा बेरुजु हुनुपर्ने समेत बताएका छन ।
उनले भने, ‘बेरुजु राख्ने जिम्मेवार अधिकारीको घर खेतबाट बेरुजु असुल उपर गर्नुपर्छ । मेरो बुझाई फरक छ । यो ठाउँमा पुग्नुपर्छ भन्ने हो । कुनै एक जना मन्त्रालयको महानिर्देशकले टेण्डर गर्छ । ठेक्का लगाउँछ ।
तर सूचना निकाल्ने, टेण्डर स्वीकृत गर्ने, मूल्याङ्कन गर्ने, कामको रेखदेख गर्ने, मूल्याङ्कन गरेर प्रतिवेदन बनाउने, स्वीकृत गर्ने, चेक काट्ने आफैँ अनि बेरुजु निर्माण व्यवसायीको कसरी हुन्छ । यो बेइमानी हो ।’