दाङ, ५ असोज– एमाले महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सहकारी ठगीमा प्रकरणमा संलग्नता पुष्टि भएको बतएका छन् ।
एमालेनिकट पत्रकार संस्था प्रेस चौतारी दाङले शनिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा पोखरेलले ठगीमा संलग्न भएको विषयमा कमजोरी स्वीकार गर्नुपर्नेमा ‘क्लिन चिट’ पाएको हल्ला गर्दै हिंड्नु उचित नभएको जिकिर गरे ।
सहकारी अपचलनसम्बन्धी मुद्दाको अनुसन्धान प्रभावित पार्ने गरी लामिछाने र रास्वपाले क्लिन चिटको हल्ला चलाएको उनको भनाइ थियो ।
उनले अनुसन्धानको घेरामा रहेका व्यक्तिले त्यसलाई प्रभाव पार्न खोज्नु गलत रहेको भन्दै पोखरेले लामिछानेलाई दण्डित गरिनुपर्ने उल्लेख गरे । सरकार र छानबिनमा संलग्न निकायले लामिछानेलाई दण्डित गर्ने पोखरेलको दाबी छ ।
सहकारी संस्थाको सदस्य नरहेका व्यक्तिले सहकारीबाट रकम ल्याएर गोर्खा मिडियामा लगानी गरेको पुष्टि लामिछाने स्वयंले बयानमा स्वीकार गरेको जिकिर पोखरेलको छ ।
‘अनुचित तरिकाले सहकारीबाट गोर्खा मिडियामा लगानी भित्र्याएको पुष्टि भएको छ’, पोखरेलले भने, ‘बिना लगानी कम्पनीमा हिस्सेदारी प्राप्त गर्ने कुरा अनुचित हो, त्यस्ता मान्छेलाई दण्डित गरिनुपर्छ ।’