जिबी राई ‘माई सेकेण्ड होम स्किम’ मा मलेसिया बसिरहेको खुलासा

काठमाण्डु टुडे २०८१ असोज ४ गते १९:११ मा प्रकाशित

काठमाण्डु, ४ असोज– राष्ट्रिय स्वतन्त्र पार्टी सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले सहकारीको बचत अपचलन गरेर भागेका जितेन्द्रबाबु (जिबी) राईलाई पक्राउ गरेर ल्याउने तयारी भइरहेका बेला सरकार परिवर्तन भएको बताएका छन् ।

सहकारीको बचत अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिमा दिएको बयानका क्रममा लामिछानेले पुष्पकमल दाहाल प्रण्ड नेतृत्वको सरकार ढालिएसँगै जिबीलाई ल्याउने प्रयास रोकिएको बताएका हुन् ।

आफू गृहमन्त्री नबन्दै जिबी मलेसियामा रहेको सूचना पाएको रविले उल्लेख गरेका छन् । आफूले १८ वैशाख ०८१ मा मलेसियाका गृहमन्त्री सैफदिन नासुसिन स्माईलसँग टेलिफोनमार्फ जिबीलाई नेपाल ल्याउन सहयोग मागेको बताए । जवाफमा स्माइलले राई ‘माई सेकेण्ड होम स्किम’ मा बसिरहेका कारण उक्त हैसियत रद्द गर्न त्यहाँका महान्यायाधिवक्तासँग कुरा गर्ने बताएको जानकारी समितिलाई दिए ।

साथसाथै इन्टरपोलमर्फत पनि राईलाई नेपाल झिकाउने काम गरिरहेको लाछिानेले उल्लेख गरेका छन । मलेसियाका अधिकारीले बिजी राईको पासपोर्ट रद्द गर्ने भए फिर्ता पठाउन सकिन्छ भन्ने जानकारी दिएपपछि सरकारले उनको पासपोर्ट रद्द गर्न कास्की जिल्ला अदालतमा निवेदन दिनुका साथै राहदानी विभागलाई पनि पत्राचार गरेको जानकारी पनि उनले दिए ।

तर, वित्तीय अपराध भएका कारण यी दुवै निकायबाट अनुमति प्राप्त हुन नसकेको रविको भनाइ छ । मलेसियाका गृहमन्त्रीसँग आफूले दोश्रोपटक ३१ जेठ २०८१ मा कुरा गरेको बताए ।

त्यस क्रममा मलेसियाका गृहमन्त्रीले बिजी राई मलेसियामा कुनै आपराधिक क्रियाकलापमा संलग्न नभएकाले उक्त स्किम रद्द गर्न नमिल्ने जानकारी दिएको उल्लेख गरे ।

त्यसपछि नेपाल प्रहरीका अधिकारीहरूलाई नै मलेसिया पठाउने र थप पहल प्रधानमन्त्रीस्तरबाट समेत गर्ने तयारी हुँदै गर्दा सरकार परिवर्तन भएको उनको भनाइ छ । हाल त्यसबारे के भइरहेको छ भन्नेबारे आफूलाई जानकारी नभएको लामिछानेले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us