काठमाण्डु, ४ असोज– एकीकृत समाजवादी अध्यक्ष माध नेपालले आफ्नो पार्टीप्रति पछिल्लो सयम आकर्षण बढेको दाबी गरेका छन् ।
पार्टीको बागमती प्रदेश कमिटीले शुक्रबार गरेको १०औं राष्ट्रिय महाधिवेशन सन्देश सभालाई सम्बोधन गर्दै उनले बाहिर आकर्षण बढे पनि पार्टीभित्र भने विवाद देखिएको स्वीकार गरे ।
महाधिवेशनमा भएको गल्तीलाई स्वीकारेर एकताबद्ध भएर पार्टी निर्माणमा लाग्न उनले आग्रह गरे । नेपालले महाधिवेशनका क्रममा नेतृत्व चयनका लागि भएको निर्वाचनमा दर्जनौं चिट बाँडिएको थाहा भएका र चिटमा नाम भएकाहरू समेत पराजित भएको उल्लेख गरे । चिटमा नाम नभएकाहरुले समेत जितेकाले चिटले काम नगरेको उनको भनाइ थियो ।
उनले कमजोरी गरेकाहरुले स्वीकार गर्नुपर्ने भन्दै उक्त प्रवृत्तिलाई प्रात्साहन गर्न नहुने बताए । निर्वाचनमा पराजित केही नेताले दिएको सार्वजनिक अभिव्यक्तिले तरंग आएको भन्दै उनले त्यस्ता गल्ती आगामी दिनमा नगर्न निर्देशन दिए ।
निर्वाचनमा पराजित हुनेले असन्तोष पोख्दै हिँड्नु गलत भन्दै त्यस्तालाई धेरैपटक छुट दिन नसकिने चेतावनी नेपालले दिए । उनको भनाइ उपाध्यक्षमा पराजित नेतृ रामकुमारी झाँक्रीप्रति लक्षित छ । महिला उपाध्यक्षमा जयन्ती राईसँग पराजित भएकी झाँक्रीले एकीकृत समाजवादीले गरिनखाने जस्ता अभिव्यक्ति दिँदै आएकी छन् ।