धनराज र ज्योती गुरुङ सँगै आएर ऋण तिर्ने प्रतिबद्धता गरेका थिएः कुम्भराज

काठमाण्डु टुडे २०८१ असोज ४ गते १८:३७ मा प्रकाशित

काठमाण्डु, ४ असोज– ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले कांग्रेस उपसभापति धनराज गुरुङका कारण आफ्नो संस्था संकटमा फसेको बताएका छन् ।

सहकारीको बचत अपचलन छानिबन गर्न गठित संसदीय छानबिन विशेष समितिसँगको बयानमा उनले धनराजले प्रतिबद्धता पूरा नगर्दा सहकारीमा समस्या देखिएको बताएका हुन् । समितिको प्रतिवेदन संसद सचिवालयले शुक्रबार सार्वजनिक गरेको थियो ।

बयानमा कुम्भराजले धनराजकी पत्नी तत्कालीन सञ्चालक ज्योति गुरुङले रकम अपचलन गरेपछि सहकारी संकटमा फसेको बताएका छन् । ‘संस्था समस्यामा पर्नुको कारण प्रवाह भएको ऋण असुल गर्न नसकेर बचतकर्ताहरूको बचत रकम फिर्ता गर्न नसक्नु हो । साथै बचतकर्ताको ठूलो रकम दुरुपयोग पनि भएको थियो’, कुम्भराजले भनेका छन्, ‘ संस्थाको महाप्रबन्धक ज्योति गुरुङलाई संस्था सञ्चालन गर्न सम्पूर्ण जिम्मेवारी दिइएको थियो । उहाँले १२ करोड ५० लाख रकम हिनामिना गरेको देखिन्छ । जुन रकम ब्याजसमेत गरेर १४ करोड ३१ लाख पुगेको छ ।’

धनराज पत्नी ज्योति गुरुङबाट अपचलन भएको रकम फिर्ता लिन सक्दा समस्या समाधान गर्न सकिने उनको विश्वासको थियो ।

उनले सहकारी सञ्चालक समितिका ९ जना सदस्यससँग धनराज र ज्योति गुरुङले सामूहिक रुपमा ऋण तिर्ने र समस्या सल्टाउने मौखिक प्रतिबद्धता व्यक्त गरेको कुम्भराजले बताए । नक्कली धनराजसँग नक्कली डिभोर्स गरेकी गुरुङ हाल सम्पर्कबाहिर छिन् ।

समितिले गुरुङलाई सहकारीको रकम अपचलनबारे छानबिन गरी कारबाही गर्न सिफारिस गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us