काठमाण्डु, ४ असोज– काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नेकपा माओवादी केन्द्रको असहमतिबीच संविधान संशोधन हुन नसक्ने बताएका छन् ।
कांग्रेस सम्वद्ध पेसागत तथा वुद्धिजीवी विभाग र नेपाल डेमोक्रेटिक लयर्स एशोशिएसनद्वारा सानेपामा आयोजित ‘संविधान संशोधनः आवश्यकता र चुनौती’ विषयक अन्तर्क्रियामा महामन्त्री शर्माले सत्तारुढ काँग्रेस र एमालेले माओवादीलाई विश्वासमा लिएर अघि बढ्न सक्नुपर्ने बताए ।
समयसापेक्ष संशोधनले नै संविधानले दीर्घजीवन प्राप्त गर्ने भए पनि संविधान निर्माणको एक महत्वपूर्ण पक्ष माओवादीलाई उपेक्षा गरेर अघि बढ्न नसकिने स्पष्ट गरे ।
संविधानको सफलताका लागि सफल कार्यान्वयन, समयानुकूल परिमार्जन, संविधान अनुकूलको रुप प्रवृत्तिको विकास र व्यवस्था परिवर्तनमार्फत अवस्था रुपान्तरणको विषयमा प्रमुख दलहरुबीच सहमति जरुरी रहेको शर्माले औंल्याए ।
मुलुक र नागरिकको आवश्यकताअनुसार संविधान संशोधन गर्नेपर्ने भन्दै उनले संघीयता, समानुपातिक र समावेशी प्रतिनिधित्वको व्यवस्थालाई कमजोर नभई थप बलियो बनाउनुपर्नेमा जोड दिए । ‘संविधान संशोधन गर्दै गर्दा संघीयता, समानुपातिक र समावेशी प्रतिनिधित्वको व्यवस्थालाई अझ बलियो बनाउन कांग्रेस जिम्मेवार दलका रुपमा प्रतिबद्ध छ’, शर्माले भने ।
शर्माले काँग्रेस र एमाले मात्र मिले संविधान संशोधन गर्न सम्भव नरहेको स्वीकार गरे । माओवादीले पनि आवेगुमक्त भएर संविधान संशोधनको प्रक्रियामा सकारात्मक भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।
‘संविधान संशोधनमा माओवादी केन्द्रसँगको सहकार्य जरुरी छ र माओवादीलाई सँगसँगै लिएर जानुपर्छ’, शर्माले भने, ‘उसले उठाएका मुद्दालाई सम्बोधन गर्नुपर्छ । माओवादी केन्द्रले पनि आवेगमुक्त भएर संशोधनमा सहयोग गर्नुपर्छ ।’
काँग्रेस र एमालेबीच गत १६ असारको मध्यरतमा संविधान संशोधनका लागि भन्दै सत्ता सहकार्यको सहमति भएको थियो ।
माओवादीले त्यसलाई प्रतिगमनको संज्ञा दिँदै संविधान संशोधनजस्तो गम्भीर विषयमा मध्यरातमा गरिएको अपारदर्शी सहमति आफूलाई मान्य नहुने बताउँदै आएको छ ।
संविधान संशोनका लागि संघीय संसदको दुवै सदनमा दुई तिहाई बहुमत चाहिन्छ । काँग्रेस–एमालेले प्रतिनिधिसभामा दुई तिहाई जुटाउन असम्भव नभए पनि राष्ट्रियसभाको पहिलो दल माओवादी केन्द्रको सहमतिबिना दुई तिहाई पुग्दैन ।