काठमाण्डु, ३ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले ठूला भनिएका दलक व्यक्तिहरू काण्डै काण्डको माला भिरेर हिँडिरहेको आरोप लगाएका छन ।
आज (बिहिबार) संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै नेता खनालले यस्तो बताएका हुन । उनले ठूला भनिएका दलको नेतृत्व तहकै व्यक्तिहरू काण्डै काण्डको माला भिरेर हिँडिरहेको बताएका छन ।
उनले त्यसकारण संविधान बनेको ९ वर्ष बितिसक्दा पनि देशका श्रमजीवि र किसानको जीवनमा खासै परिवर्तन नआएको पनि बताएका छन । उनले ठूला भनिएका पार्टीहरूलाई प्रश्नसमेत गरेका छन् ।
नेता खनालले भनेका छन, ‘आखिर कहाँ बगेर गयो त्यत्रो विपुल बजेटको लगानी ? किन मुठ्ठीभरका माथिल्ला वर्गका भ्रष्टाचारी, तस्कर, कालाबजारी र दलाल पुँजीपतिहरू मात्र करोडपतिबाट अरबपति खरबपति बन्दै गइरहेका छन रु यो देशका ठूला हौ भन्ने पार्टीका नेतृत्व पंक्तिका व्यक्तिहरू कसरी काण्डै काण्डका माला भिरेर हिँडिरहेका छन् ?’ ।
खनालले जनता महँगीको मारमा पिल्सिनुपरेको,युवा र विद्यार्थीहरू विदेश जान बाध्य भएकादेखि एउटै पार्टीले दुई तिहाई बहुमत पाउँदासम्म काम गर्न नसकेकोबारे ठूला भनिएका दलहरूलाई प्रश्न समेत गरेका छन ।
उनले भने, ‘यी प्रश्नहरूको जवाफ ठूला पार्टीका नेताहरूसँग छैन । यसर्थ अरु कुनै कारण छैन । आज देशमा जुन परिस्थिति सिर्जना भएको छ, त्यो ठूला पार्टीहरूका नेतृत्वमा रहेको दिशाहिनता, लक्ष्यहिनता, अकर्मण्यता, आत्मकेन्द्रित स्वार्थीपन, भ्रष्ट आचरण, सत्तालोलुप्ता, दम्भ, घमण्ड र सर्वोपरि रुपमा सिद्धान्तहिनता, नैतिकहिनता र निष्ठा विहिनताको अनिवार्य परिणाम हो ।