१ करोडभन्दा बढीको सामग्रीसहित २ जना पक्राउ

काठमाण्डु टुडे २०८१ असोज ३ गते १६:२० मा प्रकाशित

काठमाण्डु, ३ असोज– प्रहरीले मकवानपुरको रातोमाटेबाट अवैध भन्सार छलि गरी ल्याएको १ करोड रुपैयाँभन्दा बढीका सामग्री बरामद गरेको छ ।

हेटौंडा–१५ स्थित रातोमाटे चौकीबाट भन्सार छलेर ल्याइएको १ करोड ३५ लाख रुपैयाँको लत्ताकपडा सहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा पूर्वी चम्पारण सपही बस्ने वर्ष ३० का जन्दार आलम र सहचालक सोही स्थानको बन्जरिया पूर्वी चम्पारण चौलाहा कलोनी बस्ने वर्ष १९ का मुना मिया रहेको प्रहरीले जानकारी दिएको छ ।

असोज २ गते दिउँसो ३ बजेको समयमा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालको कमान्डमा खटिएको प्रहरी टोलीले रातोमाटे चेकपोस्टबाट सुनसरीबाट हेटौँडा हुँदै काठमाण्डु जाँदै गरेको भारतीय ट्रकमा भन्सार छलेर ल्याइएको कपडा बरामद गरीएको प्रहरीले जानकारी दिएको छ ।

बिआर ०५ जीडी १३४३ नम्बरको भारतीय ट्रकलाई चेकजाँच गर्ने क्रममा अवैध कपडा फेला परेको थियो । ट्रकमा ३४५ बोरा आलुको भन्सार बिल काटेर प्रति बोरा ५० किलोको दरले २६४ बोरा आलु राखेर ट्रकको भित्री भागमा ७४ बोरा विभिन्न किसिममा तयारी कुर्ता, रोलसहितको सर्ट एवम् पाइन्टको कपडाहरू ल्याएको प्रहरी उपरीक्षक रिजालले जानकारी दिएका छन ।

अवैध भन्सार छली गरेर ल्याइएका लत्ता कपडाहरू, आलुका बोराहरू ट्रकसमेत नियन्त्रणमा लिई अनुसन्धान कार्य अघि बढाइएको उनले जानकारी दिएका छन । बरामद गरिएका समानहरू, ट्रक र सो ट्रकलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइने उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us