रास्वपा बलियो र सुदृढ संघीय सरकारको पक्षमा छ: उपसभापति वाग्ले

काठमाण्डु टुडे २०८१ असोज ३ गते १५:०८ मा प्रकाशित

 

काठमाण्डु, ३ असोज– रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले बलियो र सुदृढ संघीय सरकार बनाउनुपर्ने बताएका छन । आज बिहीबार संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले यस्तो बताएका हुन । उनले रास्वपा बलियो र सुदृढ संघीय सरकारको पक्षमा रहेको बताएका हुन ।

उपसभापति वाग्लेले मुलुक संघीयताको अभ्यासमा गएको भएपनि अझैपनि काम, कर्तव्य र अधिकारको सन्दर्भमा तीन तहका सरकारका बिचमा अन्यौलता सिर्जना भइरहेको पनि बताएका छन ।

उनले स्थानीय तह र प्रदेश सरकारले पनि संविधानको मर्म अनुसार काम गर्न नसकेको बताए । उनले पालिकाहरूलाई एकीकृत गरेर ५०० वटाभन्दा कम स्थानीय तह बनाउनुपर्ने पनि बताएका छन ।

उपसभापति वाग्लेले प्रदेश तहमा भने समन्वयकारी र छरितो निकाय बनाउनुपर्ने बताएका छन । उनले प्रदेश सभालाई गाउँपालिकाका सदस्यहरू रहेको विधायकी थलो बनाउनुपर्ने पनि बताएका छन ।

उपसभापति वाग्लेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री बनाएर मन्त्रिमण्डल भने विज्ञहरूको बनाउनुपर्ने सुझाव पनि दिएका छन । उनले भने, ‘कुन काम प्रदेश सरकारले गर्ने, कुन काम स्थानीय सरकारले गर्ने भन्नेमा संविधानको स्प्रिट अनुसार काम गर्न सकेनौँ । अहिले फम र फङ्शनमा ठुलो ग्याप देखियो भन्ने कुरा आइरहेको छ ।

जिम्मेवारीका हिसाबले १७९३ वटा फङ्सनलाई बाँडफाँट गरिएको छ । क्षमता चाहिँ कानुनी, प्रशासनिक र वित्तीयमै एकदमै ठुलो ग्याप भएको हुनाले त्यसको स्प्रिट अनुसार भएको छैन ।

अहिलेको आम असन्तुष्टि पनि त्यही नै हो । हाम्रो लाइन चाहिँ बलियो, स्वच्छ, सुदृढ संघीय सरकार होस् भन्ने हो ।’ उपसभापति वाग्लेले समावेशी, समानुपातिकको प्रतिनिधित्व संविधानले परिकल्पना गरे अनुरूप हुन नसकेको भन्दै यसप्रति धेरै प्रश्नहरु रहेका बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us