राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन: उपमहासचिव ज्ञवाली

काठमाण्डु टुडे २०८१ असोज ३ गते १५:०१ मा प्रकाशित

काठमाण्डु, ३ असोज– पूर्व मन्त्री एवं एमाले उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक भएको बताएका छन ।

आज बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन । उपमहासचिव ज्ञवालीले संविधानको कार्यान्वयन गर्दै ९ वर्ष बिताइसकेको भन्दै संविधानमा भएका कमीलाई पूरा गर्ने समय आएको दाबी गरेका छन । उनले यसबिचमा धेरै राम्रा उपलब्धिहरू भएका पनि बताएका छन ।

उनले मौलिक अधिकारहरू स्थापित हुनु, द्वन्द्व अन्त्य भएर मूलतः मुलुक नयाँ कोर्षमा अगाडि बढ्नु सकारात्मक पक्ष रहेको पनि बताएका छन । उपमहासचिव ज्ञवालीले समतामूलक, न्यायपूर्ण र समुन्नत समाजको परिकल्पना संविधानले गरेको भएपनि त्यसका लागि अझै धेरै कामहरू गर्न बाँकी रहेको बताएका छन ।

संविधानको परिकल्पनाअनुसार समतामूलक, न्यायपूर्ण र समुन्नत समाज निर्माण हुन नसक्नु राजनीतिक अस्थिरता रहेको पनि बताएका छन । उनले भने, ‘संविधानको कार्यान्वयन गर्दै हामीले करिब ९ वर्ष बिताएका छौँ । एकातिर असाध्यै राम्रा उपलब्धिहरू पनि भएका छन् ।

संसारका थोरै देशहरू होलान्, जसले संविधान जारी भएको तेस्रो वर्षमै संघीयताका तीन वटै सेटअपहरु निर्माण गरेर तीनै तहका सरकारहरू स्मोथ्ली चलाएको संसारका धेरै देशहरूमा त्यस्तो देखिँदैन ।

मौलिक अधिकारहरू स्थापित भएका छन् । द्वन्द्व अन्त्य भएर मूलतः मुलुक नयाँ कोर्षमा अगाडि बढेको छ ।’ उपमहासचिव ज्ञवालीले संघीयता नौलो अभ्यास रहेकाले गर्दै र सिक्दै जानुपर्ने पनि बताएका छन । उनले संघ सरकारबाट बन्नुपर्ने केही कानुनहरू नबन्दा प्रदेशले पूर्ण रूपमा अधिकार प्रयोग गर्न नपाएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us