राउटे समुदायका एक युवकको मृत्यु, १३४ मा झर्‍यो जनसङ्ख्या

काठमाण्डु टुडे २०८१ असोज ३ गते ११:५६ मा प्रकाशित

काठमाण्डु, ३ असोज– लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय वृषबहादुर शाही रहेको प्रहरीले जानकारी दिएको छ ।

शाहीलाई भदौ ३१ गते उपचारको लागि प्रदेश अस्पताल लगिएको थियो । उपचार हुन नसकेपछि अहिले राउटे बसोबास गरेको स्थान गुराँस गाउँपालिका–१, सिमेलसाल फर्कँदै गर्दा बुधवार राति ९ बजे सुर्खेतको कल्यान काँधमा मृत्यु भएको राउटे परियोजनाका स्वास्थ्यकर्मी विनोद बिसी जानकारी दिएका छन ।

मृतक युवा ६ महिनादेखि बिरामी थिए । उपचार गर्न अस्पताल जान नमान्ने राउटे समुदायलाई सम्झाई बुझाई गर्दा बल्ल भदौ ३१ मा उपचार गर्न सहमति जनाएको उनले जानकारी दिएका छन । गुराँस गाउँपालिकाको सहयोगमा प्रदेश अस्पताल सुर्खेत ल्याइएको उनले जानकारी दिएका छन । खकार चेक गर्दा क्षयरोग रोग देखियो । उपचारमा संलग्न चिकित्सकले सरुवा टिबी भएको जानकारी दिएका छन ।

उनले भने, ‘क्यान्सर पो हो कि भनेर मासु लिएर चेक गर्न खोज्दा राउटे मन्जुर भएनन्, ‘अस्पतालले डिस्चार्ज गरिदियो । फर्किँदै गर्दा बाटोमा मृत्यु भएको हो ।’उनी राउटे समुदायभित्र पर्ने कल्याल जातीका मुखिया वीरबहादुर शाहीका साइँला सन्तान हुन् ।

यसअघि मृतकका दाजु कपिल शाहीको ६ वर्षअघि मृत्यु भएको हो । २०७२ सालमा कपिल अछामको भैरवस्थानको कुजेडामा आगोले पोलिएका थिए । कपिल वीरबहादुर शाहीका जेठा छोरा हुन् । वृषबहादुरको मृत्यु भएसँगै अब राउटेको जनसङ्ख्या घटेर १३४ मा झरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us