म र बालेनसँग ओली डराएः दुर्गा प्रसाईं
काठमाण्डु टुडे
२०८१ असोज ३ गते १०:४१ मा प्रकाशित

काठमाण्डु, ३ असोज–विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केपी ओली नेतृत्वको सरकार आफू र काठमाण्डु महानगरका मेयर बालेन्द्र साह (बालेन) सँग डराएको आरोप लगाएका छन् ।
काठमाण्डु जिल्ला अदालतले बुधबार साइबर अपराधमा पक्राउ पुर्जी जारी गरेपछि युटुबरहरुसँग कुरा गर्दै आफूमाथिको व्यवहारको हिसाब किताब हुने चेतावनी दिए ।
यद्यपि उनले अदालतको आदेश स्वीकार गर्ने बताए । प्रसाईंले व्यवस्था परिवर्तनका लागि आफूलाई साथ दिन अपिल गरे । बोल्न पाउने व्यवस्थाका लागि लोकतन्त्र ल्याएको भए पनि गरिब, उत्पीडित, मजदुर र सर्वहाराको पक्षमा र भ्रष्टहरुको विरोधमा बोल्दा पक्राउ पुर्जी जारी गरिएको दाबी गरे । यो व्यवस्था परिवर्तन गर्न र नागरिकका लागि एक हजार पल्ट झुण्डिन तयार छु’, प्रसाईंले भने, ‘म भाग्दिन । कहाँ लानुहुन्छ जान तयार छु ।’ प्रसाईंले आफूमाथि सरकारले गरेको व्यवहार निन्दनीय रहेको बताए । उनले जनता आफू र बालेनको पक्षमा रहेको जिकिर गरे । सरकारको पक्षमा जनता नरहेको उनको भनाइ थियो ।
‘लोकतन्त्र बोल्न पाइन्छ भनेर ल्याएको हो । इन्द्र जात्रामा बालेनको तस्बिर भएको भेष्ट लगाएर युवाहरु जाँदा पक्राउ गरियो । बालेन र दुर्गा प्रसाइँग सरकार डरायो । सरकारमा बस्नेसँग जनता छैन, हामीसँग जनता छन्’, उनले भने ।
प्रसाईंले आफूलाई सरकारले २४ दिनभन्दा बढी थुन्न नस्सक्ने र २५औं दिनमा छुटेर फेरि अभियान अघि बढाउने बताए ।
आफूले शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला पनि बोलेको तर त्यतिबेला पक्राउ नगरिएको भन्दै केपी ओलीप्रति घृणा लागेर आएको टिप्पणी गरे ।