काठमाण्डु, ३ असोज–राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधनको प्रक्रिया प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्ने दिशातर्फ अग्रसर हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ का अवसरमा बिहीबार शुभकामना दिँदै उनले संविधानको स्वामित्व र अपनत्व वृद्धि गर्दै समयानुकूल सुधार र परिमार्जन स्वभाविक प्रक्रिया भएको बताए । तर, पश्चगामी सोचका साथ आउने संविधान संशोधनका तर्क संविधान निर्माणकर्ता र संविधान स्वयंका लागि मान्य हुन नसक्ने उनको भनाइ छ ।
विगतमा गरिएका उपलब्धिमा गर्व र गर्न नसकिएका विषयमा समीक्षा गर्दै अघि बढ्नुमा नै दिवस मनाउनुको सार्थकता हुने दाहालले बताए ।
संविधान जारी भएयता संघीय संसद्ले थुप्रै ऐन कानुन बनाएको र अझैँ केही महत्वपूर्ण कानुन बनाउन बाँकी रहेको जनाउँदै उले संविधानअनुकूलका कानुन छिटो बनाई शासन व्यवस्थालाई संस्थागत गर्नु सबैको दायित्व भएको स्पष्ट गरे ।
दिवसले संविधानको कार्यान्वयनमा प्रतिबद्ध रहन, इमान्दारितापूर्वक पालना गर्न र जनताप्रति उत्तरदायी बन्न प्रेरणा प्राप्त होस् भन्ने कामना गरे । नेपालको राजनीतिक इतिहासमा संविधानसभाबाट संविधान निर्माण गर्नु ऐतिहासिक परिघटना भएको उल्लेख गर्नुहुँदै उनले आफ्ना प्रतिनिधिले बनाएको संविधानबाट शासित हुने सात दशक लामो जनचाहना वर्तमान संविधानबाट पूरा भएको स्मरण गरे ।
दशवर्षे सशस्त्र युद्ध, २०६२/६३को जनआन्दोलनलगायत राजनीतिक परिवर्तनका लागि भएका मधेस आन्दोलन, आदिवासी जनजाति, थारू, दलितका विभिन्न आन्दोलनको योगफलका रूपमा नेपालमा संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएको स्मरण उनले गरे ।
सार्वभौमसत्ता नेपाली जनतामा निहित रहने गरी जारी संविधानमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी/समानुपातिक प्रणालीलगायत महत्वपूर्ण उपलब्धि लिपिबद्ध गरी आम नेपालीलाई एउटै सूत्रमा एकताबद्ध गर्ने देशको मूल कानुन संविधान जारी भएको यस दिनले सबैलाई संविधान कार्यान्वयन र यसको पूर्णपालनाका लागि प्रेरणा दिने विश्वास उनले व्यक्त गरे ।
दाहालले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमाबुवा, दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना र राजनीतिक परिवर्तनमा जीवन उत्सर्ग गर्ने शहीदहरुप्रति श्रद्धाञ्जलीका साथै बेपत्ता तथा घाइते, अपाङ्गप्रति उच्च सम्मान प्रकट गरेका छन् ।