सत्तापक्षलाई खिलराज रेग्मीको चेतावनीः जनता जागरुक र सचेत छन्, पछि फर्कन नखोज्नु

काठमाण्डु टुडे २०८१ असोज ३ गते ९:०५ मा प्रकाशित

काठमाण्डु, ३ असोज– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले विगतका संवैधानिक अभ्यास, अनुभव र कार्यान्वयन पक्षका कमीकमजोरीलाई केलाउँदै लोकतन्त्र, मानवअधिकार, समानता र समृद्धिको आगामी यात्रामा एकजुट भइ लाग्नुपर्नेमा जोड दिएका छन ।

संविधान दिवस तथा राष्टिन्य दिवस –२०८१ का अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले स्थिरता, जनसहभागिता, हकअधिकारको संरक्षण र समृद्धि नै संवैधानिक मार्गचित्र भएको बताए ।

उनले सरकार पक्षले उठाएको संविधान संशोधनको बहसमा सार्वजनिक चासो रहेको भन्दै स्थिरता, जनसहभागिता, हकअधिकारको संरक्षण र समृद्धि संवैधानिक मार्गचित्र भएको स्मरण गर्न आग्रह उनले । रेग्मीले त्यसलाई सम्वर्द्धन गर्नु नै आजको लोकतन्त्रको सारभूत विषय भएको स्पष्ट गर्दै हाम्रा सबै क्रियाकलाप त्यसैतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।

विगतको लामो सङ्घर्ष र जनआन्दोलनको कठिनतम् प्रयासबाट नेपालले संविधानसभाबाट लोकतान्त्रिक संविधान निर्माण गरेको स्मरण गर्दै उनले वीर शहीदको बलिदान, घाइते, अपाङ्गता भएकाहरूको संघर्षपूर्ण जीवनले नेपाली जनताको समुन्नत भविष्यका लागि अघि बढ्न घच्घच्याइरहेको उल्लेख गरे ।

रेग्मीले अब पनि पछि पर्ने अलमलिने र अलमल्याउने छुट कसैलाई नभएको भन्दै प्रविधिको चरम विकास भएको विश्व व्यवस्थामा नेपाली जनता पनि बढी जागरुक र सचेत भइसकेका उल्लेख गरे ।

शिक्षा, स्वास्थ्य, रोजगारी र समृद्धि आजको महत्वपूर्ण विषय र आवश्यकता भएको रेग्मीले औंल्याए । रेग्मीले सरकार र राजनीतिक दलले जनचाहनाअनुरुप गर्ने परिणाममुखी कामले मात्र जनआकाङ्क्षा पूरा हुने र संविधानको लक्षित उद्देश्यतर्फ अघि बढ्ने स्पष्ट गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us