नेपालको संविधान जनअधिकारको वास्तविक स्रोत होः सभामुख

काठमाण्डु टुडे २०८१ असोज ३ गते ८:४६ मा प्रकाशित

काठमाण्डु, ३ असोज– सभामुख देवराज घिमिरेले लोकतन्त्रको मूल मर्म र नेपाली जनताको आकांक्षाको प्रतिबिम्बका रुपमा रहेको नेपालको संविधानको इमान्दारितापूर्वक पालना गरिनुपर्ने बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस– २०८१ का अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासहितको संविधान जारी भएको ऐतिहासिक दिनको स्मरणमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरे ।

नेपालको संविधानले सबै नागरिकलाई अधिकार प्रदान गरेको भन्दै उनले संविधान अधिकारको वास्तविक स्रोत भएको उल्लेख गरे । संविधान कार्यान्वयनका लागि तत् तत् निकायले आफ्नो कर्तव्य निर्वाह गरेको अवस्थामा अधिकार खोज्न टाढा जानु नपर्ने उनको भनाइ छ । घिमिरेले संविधान सबै नेपालीको राष्ट्रिय भावना प्रतिनिधित्व गर्ने साझा दस्तावेज भएको बताए ।

सभामुख घिमिरेले संविधान बमोजिमका बाँकी कतिपय कार्यभार पूरा गरे पनि केही कानुन निर्माणको चरणमा रहेको र संघीय संसद्ले संविधानको एक तिहाईभन्दा बढी धाराहरू कार्यान्वयनका लागि विभिन्न कानुन निर्माण गरिसकेको उल्लेख गरे ।

सन्देशमा संविधान कार्यान्वयनका लागि सम्पूर्ण राजनीतिक शक्तिलाई साझा बिन्दुमा उभिएर बाँकी कानून निर्माणमा समझदारी पहिल्याउन अपिल गरे ।

सभामुख घिमिरले नेपाललाई लोकतान्त्रिक शासन व्यवस्थासम्म ल्याउन भएका आन्दोलन तथा संकर्षहरुमा आफ्नो जीवनको उत्सर्ग गर्ने सबै शहीदहरुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us