भ्रष्टाचार, बेथिति र निराशा चिरेर अघि बढ्नुको विकल्प छैनः प्रचण्ड

काठमाण्डु टुडे २०८१ असोज ३ गते ८:३८ मा प्रकाशित

काठमाण्डु, ३ असोज– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले प्राप्त गरेका अधिकारको उच्चतम उपभोग गर्दै सबैखाले अराजकता, भ्रष्टाचार,

बेथिति र निराशालाई चिर्दै नयाँ उत्साहका साथ अघि बढ्न र यो अभियानमा सहभागी हुन जनसमुदायमा अपिल गरेका छन् । संविधान र राष्ट्रिय दिवस–२०८१ का अवसरमा बिहीबार एक सन्देश जारी गर्दै प्रचण्डले संविधान दिवस मनाउनुको अर्थ सबै प्रकारका अराजकता र निरङ्कुशतावादी सोचविरुद्ध नेपाल राष्ट्र र नेपाली जनतालाई एकताबद्ध गर्नु भएको उल्लेख गरेका छन् ।

‘हामी इतिहासको निकै चुनौतीपूर्ण र अवसरयुक्त मोडबाट गुज्रिरहेका छौं । यतिबेला हामीले संविधान दिवस मनाउनुको अर्थ सबै प्रकारका अराजकता र निरङ्कुशतावादी सोंचका विरुद्ध नेपाल राष्ट्र र नेपाली जनतालाई एकताबद्ध गर्नु हो’, सन्देशमा उनले भनेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले नेपालका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायलाई अधिकार सम्पन्न बनाएको तथा राज्यमा समानुपातिक समावेशी प्रतिनिधित्वलाई एक हदसम्म सुनिश्चित गरेको प्रचण्डले बताए ।

यसलाई अझ सुदृढ गर्न अगाडि बढ्नु सबैको जिम्मेवारी भएको उनको भनाइ छ । सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोहुँदै समाजवाद निर्माणको अभियानमा अघि बढ्नु अबको हाम्रो सुस्पष्ट बाटो हुने भन्दै उनले संविधानमार्फत जनताले प्राप्त गरेका अधिकारको रक्षा, प्रयोग र थप परिस्कृत गर्दै बदलिएको व्यवस्थाअनुकूल जनताको अवस्था बदल्न दृढताका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

त्यसका लागि आफ्नो हाम्रो पार्टी निरन्तर अभियानात्मक कार्यक्रमसहित अघि बढ्ने तयारीमा रहेको पनि प्रचण्डले सन्देशमा उल्लेख गरेका छन् । यस्तै उनले संविधान दिवसले सबैलाई संविधान कार्यान्वयनमा बाँकी रहेका कामहरु अझ तदारुकताका साथ र दृढताका साथ कार्यान्वयन गर्न उत्प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

प्रचण्डले यस ऐतिहासिक दिवसका अवसरमा संविधान निर्माणका निम्ति योगदान गर्ने देशभित्र र बाहिरका सम्पूर्ण नेपाली जनताप्रति हार्दिक बधाई र शुभकामना व्यक्त गरेका छन् ।

देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणको स्तरसम्म ल्याइपु¥याउन जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलन लगायतका विभिन्न प्रकारका आन्दोलनमा प्राण उत्सर्ग गर्ने महान शहीदहरुप्रति प्रचण्डले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

साथै, बेपत्ता यौद्धा, घाइते तथा अपाङ्ग लगायत सम्पूर्ण गणतान्त्रिक यौद्धाहरुप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us