काठमाण्डु, ३ असोज– आज संविधान दिवस राष्ट्रिय दिवसका रुपमा मनाइँदैछ ।
दिवसका अवसरमा सरकार र नागरिक स्तरबाट विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । संविधान जारी भएको दिनको सम्झानामा सरकारले हरेक वर्ष ३ असोजलाई राष्ट्रिय दिवसका रुपमा मनाउँदै आएको छ ।
संविधानसभाले ०७२ असोज ३ गते आजैका दिन संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेको थियो । दिवसका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ दिवसका अवसरमा सरकारले दिपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन आमनागरिकमा आह्वान गरेको छ ।
सरकारले सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मुल समारोह आयोजना गरेको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि छन् । समारोहलाई संविधान दिवस मूल समारोह समिति संयोजक समेत रहेका प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्नेछन् ।
दिवसका अवसरमा राष्ट्रपति पौडेलले आजै साँझ शीतलनिवासमा एक समारोह आयोजना गरेका छन् । संविधान दिवसका अवसरमा सातवटै प्रदेश सरकार, स्थानीय तह तथा नागरिकस्तरबाट समेत विविध कार्यक्रम आयोजना गरिएको छ ।
विदेशस्थित नेपाली कूटनीतिक नियोगमा समेत संविधान दिवस मनाइँदैछ । ३५ भाग ३०८ धारा र ९ अनुसूचीमा रहेको नेपालको संविधानमा गणतन्त्र, संघीयता, धर्मनिपरपेक्षता, समावेशीता र समानुपातिक समावेशी प्रतिनिधित्वको ग्यारेण्टी गरिएको छ ।
संविधान दिवसका अवसरमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री, ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसहित विभिन्न राजनीतिक दलका नेताले शुभकामना दिएका छन् ।
००७ सालदेखि नेपाली जनताले गरेको बलिदानपूर्ण संघर्षको जगमा संविधान निर्माण भएको थियो ।
००७ सालमा राणशासनविरोधी अभियानका क्रममा नेपाली काँग्रेसले उठाएको संविधानसभामार्फत आफ्ना प्रतिनिधिमार्फत जनता आफैंले संविधान लेख्ने राजनीतिक नारा तत्कालीन राजा महेन्द्रले ०१५ सालमा संसदीय निर्वाचन गराएसँगै शिथिल भएको थियो ।
०५२ फागुन १ बाट जनयुद्ध थालेको माओवादीले संविधानसभामार्फत संविधान जारी गर्ने एजेण्डा उठाएपछि त्यसबारे फेरि बहस भयो ।
०६२/०६३ सालको जनआन्दोलनअघि तत्कालीन रात राजनीतिक दल र विद्रोही नेकपा माओवादीबीच सविधानसभामार्फत संविधान जारी गर्ने सहमति भएको थियो ।