काठमाण्डु, २ असोज– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।
पार्टीका नवनियुक्त २० केन्द्रीय सदस्यलाई प्रमाणपत्र प्रदान गर्न बुधबार राजधानीमा आयोजित कार्यक्रममा लिङ्देनले उक्त चेतावनी दिएका हुन् ।
आफू गणतन्त्रविरोधी र राजतन्त्र पक्षधर भएको स्वीकार गर्दै उनले पक्रेर देखाउन प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिए ।
‘म केपी ओलीको सरकारलाई चुनौतीको भाषामा भन्न चाहन्छु’, उनले भने, ‘यो संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्म निरपेक्षता, संघीयताको विरोधी हो राजेन्द्र लिङ्देन । सके पक्रेर देखाओस् ।’ लिङदेनले संविधानविरोधी पार्टीका नेतालाई सरकारले नोटिसमा राखेको बताए ।
लिङदेनले अराजतकताभित्र आफूले भविष्य नखोजेको भन्दै संविधान असफल भएकाले प्रमुख दलहरुबीचमा सहमति गरेर छिटोभन्दा छिटो सबै अटाउने प्रणालीको विकास गर्न जरुरी रहेको जिकिर गरे ।