काठमाण्डु, २ असोज– कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको दाबी गरेका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सय दिने विशेष अभियानको शुभारम्भ गर्दै देउवाले सहकारीको रकम हिनामिना गर्न गठित संसदीय छानबिन विशेष समितिले लामिछानेमाथि संसदमा उठेका प्रश्नहरू प्रमाणित गरेको बताए ।
देउवाले लामिछानेमाथि लागेको ठगीको आरोपबारे विश्वास नलागेको भएपनि समितिले प्रमाणित गरेको र पार्टीका महामन्त्री गगन थापाले उठान गरेको विषय सही भएको बताएका थिए । यसका लागि उनले थापालाई धन्यवादसमेत दिए ।
उनले लामिछाने चलाख मान्छे भएको र आफू छक्क परेको बताए । लामिछानेभन्दा पनि आफ्नो महामन्त्री गगन थापा चलाख रहेको उनको भनाइ थियो ।
‘सहकारीसम्बन्धी कुरा हाम्रो महामन्त्री थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले पत्याएकै थिइनँ, यस्तो छ भनेर । सहकारीको विषय। मैले वास्तवमा पत्याएकै थिइनँ । यस्तो छ भनेर,’ देउवाले भने, ‘रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने, चलाख मान्छे । म त छक्कै परेँ कुरा सुनेर । तपाईंले जित्दिनुभयो, त्यसकारण धन्यवाद तपाईंलाई ।’
यस्तै उनले अब पार्टी संगठन विस्तार गर्नेतर्फ ध्यान दिन र मिलाउनतिर लाग्न पनि निर्देशन दिए ।