काठमाण्डु, २ असोज–सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिकामा धान खेतमा एक युवकको शव भेटिएको छ । कृष्णासवरण गाउँपालिका–६ मोहनपुर बस्ने २८ वर्षीय ईश्वर पोखरेलको शव बुधबार विहान स्थानीय शनि चौधरीको खेतमा भेटिएको जिल्ला प्रहरी कार्यलय सप्तरीले जानकारी दिएको छ ।
उनको के कारणले मृत्यु भएको हो भन्ने खुलेको छैन । शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा राखिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको र पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुंडीराज न्यौपानेले जानकारी दिएका छन । परिवारजनका अनुसार विश्वकर्मा पूजाको अवसरमा पोखरेल महुली बजारमा आयोजित सांस्कृतिक कार्यक्रम हेर्न पुगेका थिए ।
वैदेशिक रोजगारीमा रहेका पोखरेल १५ दिनअघि आमा बितेपछि किरिया गर्न घर फर्केका खुलेको छ । घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।