स्थानीय तहको उपनिर्वाचनः आयोगले सार्वजनिक गर्‍यो कार्यतालिका, १० असोज देखि दल दर्ता

काठमाण्डु टुडे २०८१ असोज २ गते १७:५६ मा प्रकाशित

काठमाण्डु, २ असोज– निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि कार्यातालिका सार्वजनिक गरेको छ । आयोगले आउँदो मङ्सिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनलाई व्यवस्थित रूपले सञ्चालन गर्न आयोग र अन्तर्गतका कार्यालयहरूले सम्पादन गर्ने कार्यहरूलाई समयबद्ध रूपमा समावेश गरी आयोगबाट कार्यतालिका स्वीकृत भएको आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिएका छन ।

कार्यतालिका अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दलको दर्ताको सूचना ०८१ असोज ९ गते प्रकाशन गरी असोज १० गतेदेखि १६ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गरिने भएको छ ।

असोज २० गते दल दर्ता स्वीकृत गर्ने, निर्वाचन सम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम सञ्चालन गर्ने कार्यतालिकामा उल्लेख गरीएको छ ।

कार्तिक २६ मा मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गर्ने, कार्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मङ्सिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्दै मङ्सिर १६ मा मतदान गर्ने लगायतका ६२ वटा क्रियाकलाप सहित निर्वाचन कार्यतालिका स्वीकृत भएको आयोगले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us