रास्वपामा सभापतिको पापको भारी कसले बढी बोक्ने भन्ने प्रतिस्पर्धा छ: महामन्त्री थापा

काठमाण्डु टुडे २०८१ असोज २ गते १७:३० मा प्रकाशित

काठमाण्डु, २ असोज– कांग्रेस महामन्त्री गगनकुमार थापाले सहकारी ठगीमा कांग्रेसले भनेकै कुरा संसदीय छानबिन समितिले पुष्टि गरेको बताएका छन । आज बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन ।

उनले संसदीय छानबिन समिति गठनको माग गर्दा कांग्रेसले गरेको आशंका समितिले पुष्टि गरेको पनि बताएका छन । उनले आफूहरुले गोर्खा मिडिया प्रालिले सहकारीको रकम अपचलन गरेको, गोर्खा मिडियाका तत्कालीन सञ्चालक रवि लामिछाने गृहमन्त्री हुँदा सरकारी निकायले छानबिन नगरेको र गोर्खा मिडियामा रकम लैजानेहरुलाई कारबाही गर्न माग गरेर संसदीय छानबिन समिति गठनको माग राखेको पनि बताएका छन ।

उनले संसदीय छानबिन समितिले आफूहरुले उठाएका सबै विषय सत्य पुष्टि गरेको पनि बताएका छन । संसदीय समितिले गोर्खा मिडियाले ४/५ वटा सहकारीबाट करोडौं रकम गैरकानुनी रुपमा लगेको र यो रकम अपचलनमा तत्कालीन सञ्चालक जीबी राई, कुमार रम्तेल, रवि लामिछाने र छविलाल जोशीलाई प्रचलित कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थापाले बताएका छन ।

तर अहिले रास्वपाका नेता कार्यकर्ताले संसदीय समितिले दोषी किटान नगरेको प्रचार गरिरहेकोमा उनले आफु आश्चर्यमा परेको पनि बताएका छन । उनले संसदीय समितिमा रहेका रास्वपा सांसदले कारबाही सिफारिस गर्ने निर्णयमा हस्ताक्षर गरेर बाहिर आएर आफ्नो सभापतिलाई दोष लागेन भनेर भ्रम छरेको पनि बताएका छन ।

अहिले रास्वपामा सभापतिको पापको भारी बोक्ने प्रतिस्पर्धा चलिरहेको उनले टिप्पणी गरे । ‘त्यहाँ त अध्यक्षको पापको भारी, अपराधको भारी कसले बढी बोक्ने भन्ने प्रतिस्पर्धा छ, यसले पनि ताली बजाएको छ, उसले पनि ताली बजाएको छ, नाम पार्टीको स्वतन्त्र छ, मान्छे कोही पनि स्वतन्त्र छैन’, उनले भने, ‘कसले ताली बढी बजाउने भन्ने प्रतिस्पर्धा छ ।’

संसदीय समितिको प्रतिवेदन सरकारले कार्यान्वयन गर्नुपर्ने उनले बताए । कांग्रेस उपसभापति धनराज गुरुङमाथि पनि सहकारी ठगीको आरोप लागेको र गुरुङले आफूमाथि छानबिन होस् भनिरहेको भन्दै थापाले यो विषयमा पनि सरकारले छानबिन गर्नुपर्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us