विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेछौंः शिक्षामन्त्री भट्टराई

काठमाण्डु टुडे २०८१ असोज २ गते १५:०८ मा प्रकाशित

काठमाण्डु, २ असोज– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्ने बताएकी छन । आज बुधबार राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले यस्तो बताएका हुन ।

उनले उक्त ऐन छिटो पारित गर्ने सरकारको तयारी रहेको बताएकी छन । मन्त्री भट्टराईले शिक्षकलाई मासिक रुपमा पारिश्रमिक दिन पनि स्थानीय तहहरुलाई अनुरोध गरेकी छन् ।

उनले भनिन्, ‘हामी विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेगरी अघि बढिरहेका छौँ । यसैगरी शिक्षकलाई मासिक रुपमा पारिश्रमीक प्रदान गर्न पनि सबै स्थानीय तहलाई आजको दिनमा हार्दिक अनुरोध गर्न चाहन्छौं’ ।

उनले देशमा सञ्चालित आधारभूत र माध्यमिक विद्यालय, निजी तथा सामुदायिक शैक्षिक गुठी, गुरुकुल, गुम्बा र मदरसाहरुलाई व्यवस्थित गर्दै लैजाने पनि बताएकी छन ।

नेपालमा सामुदायिक विद्यालयतर्फ स्थायी शिक्षक संख्या ९४ लाख ७५९ र अस्थायी १८ हजार ३७६, राहत दरबन्दीमा ४३ हजार ४२ र विषय शिक्षातर्फ ४ हजार १०९ शिक्षक रहेको उनले जानकारी दिएकी छन ।

मन्त्री भट्टराईले विद्यालयमा दिवा खाजा कार्यक्रमलाई अझै व्यवस्थित बनाउने, रैथाने र पोषणयुक्त दिवा खाजाको व्यवस्था गर्न स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा सरकारले प्रारुप तयार गरी शुरु गर्ने योजना बनाएको पनि बताएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us