काठमाण्डु, २ असोज– जनता समाजवादी पार्टी जसपाले कार्यकारिणी समितिको बैठक बोलाइएको छ । आज बुधवार पार्टी मुख्यालयमा बस्ने बैठकमा असोज ३ गते मनाउने संविधान दिवस, चार महिने अभियानलगायत अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने जसपाका एक नेताले जानकारी दिएका छन ।
जसपाले ९ भदौ देखि चार महिने साङ्गठनिक अभियान चलाइरहेको छ । प्रत्येक प्रदेशमा कार्यक्रम सम्पन्न गरिसकेको छ । अहिले पालिका र जिल्लाहरूमा कार्यक्रम भईरहेको जसपाले जनाएको छ । बैठकमा त्यसको समीक्षा गर्नुका साथै असोज ३ गतेको संविधान दिवसबारे पनि छलफल हुने ति नेताले जानकारी दिएका छन ।
सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । उनले संविधान दिवसको विरोध गर्ने बताए । असोज ३ गते संविधानमा रहेका विभेदकारी एवम् त्रुटिपूर्ण प्रावधानहरू परिवर्तनका लागि विभिन्न प्रकारका कार्यक्रम आयोजना गरी संविधान संशोधनद्वारा यसलाई सच्याउनका लागि दबाब दिने समेत उनले बताएका छन ।
संविधानको संशोधन, परिमार्जन र पुनर्लेखन गरी सङ्घीय संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली, जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्व, राष्ट्रिय पहिचानको मान्यता, न्यायपालिकाको संरचनागत परिवर्तन लगायत विषयलाई समेट्नुपर्ने पनि उनले बताएका छन ।
जनआन्दोलन, जनयुद्ध, ऐतिहासिक मधेस जनविद्रोह लगायतका आन्दोलनमा सरकारसँग भएका सम्झौता, अन्तरिम संविधानमा भएका प्रावधान, पहिलो संविधानसभामा सर्वसम्मत भइसकेका विषय तथा जनताको अभिमतलाई समेत उपेक्षा गरिएको बताउँदै अध्यक्ष यादवले संविधानसभामा समेत छलफल नै नगराई जबरजस्ती सरकारले जनतामाथि दमन गरी जारी गरिएको संविधान विभेदकारी र त्रुटिपूर्ण रहेको उनले बताए ।