कोशीका मुख्यमन्त्री कार्की दोश्रोपटक विश्वासको मत लिँदै

काठमाण्डु टुडे २०८१ असोज २ गते १०:२२ मा प्रकाशित

काठमाण्डु, २ असोज– कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपराह्न १ बजेप्रदेशसभा बैठक आह्वान गरिएको छ ।

सरकारलाई समर्थन गरेको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि कार्कीले दोश्रोपटक विश्वासको मत लिन लागेका हुन् ।

एमाले नेता कार्की माओवादी समर्थनमा गत २७ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले पहिलोपटक ३१ वैशाखमा विश्वासको मत लिएका थिए ।

संसदका प्रमुख दुई दल काँग्रेस र एमालेबीच गत १७ असारको मध्यरातमा सत्ता समीकरणको सहमति भएपछि माओवादीले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

माओवादीले ११ असारमा कोशी सरकारबाट बाहिरिएको भए पनि काँग्रेस भने गत साता मात्र सरकारमा सहभागी भएको छ ।

कूल ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० र काँग्रेसका २९ सांसद भएकाले मुख्यमन्त्री कार्कीले विश्वासको मत प्राप्त गर्ने निश्चित छ ।

प्रदेशसभामा तत्काल कायम सदस्य संख्याको बहुमत अर्थात ४७ सांसदको समर्थन भए मुख्यमन्त्रीले विश्वसको मत पाउँछन् । मुख्यमन्त्री कार्कीलाई ६९ सांसदको समर्थन छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us