काठमाण्डु, २ असोज– नेपालले बंगलादेशको नयाँ सरकारलाई औपचारिक रुपमा मान्यता दिएको छ ।
प्रधानमन्त्री केपी ओलीले त्यहाँका अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसलाई लिखित बधाई तथा शुभकामना पठाएका हुन् । ओलीको शुभकामनापत्र बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले मंगलबार सरकार प्रमुख युनुसलाई हस्तान्तरण गरेका छन् ।
राजदूत भण्डारीले नेपाल बंगलादेशसँगको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार गर्न इच्छुक प्रधानमन्त्री ओलीको सन्देश सरकार प्रमुख युनुुसलाई सुनाएका थिए ।
युनुसले बंगलादेशको राजनीतिक परिवर्तन र नयाँ सरकारप्रति समर्थन जनाएकामा धन्यवाद दिए । राजदूत भण्डारीले शुभकामनापत्र बुझाएपछि ढाकास्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा नेपालले बंगलादेशप्रति दर्शाएको समर्थन र ऐक्यबद्धताको सरकार प्रमुख युनुसले प्रशंसा गरेको उल्लेख छ । भेटमा द्विदेशीय सम्बन्ध नवीकरण गर्दै आर्थिक सहकार्य तथा साझेदारीका विषयमा कुराकानी भएको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार युनुसले दुई देशबीच राजनीतिक र जनस्तरमा रहेको सौहार्दपूर्ण सम्बन्धप्रति सन्तोष व्यक्त गरेका छन् । राजदूत भण्डारीले आन्दोलनका क्रममा ढाकामा बंगलादेशमा रहेका नेपाली नागरिकको सुरक्षाका निम्ति गरेको सहयोगप्रति धन्यवाद दिए ।
युनुस र राजदूत भण्डारीबीच द्विपक्षीय सम्बन्ध विस्तारका साथै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) लगायत क्षेत्रीय संगठनलाई नवजीवन प्रदान गर्ने तथा अन्तरराष्ट्रिय संगठनहरुमा सहकार्यको हात बढाउने सम्बन्धमा पनि विचारविमर्श भएको बताइएको छ ।
अल्पविकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन लागेका दुवै देशले सहज एवं दिगो स्तरोन्नतिका निम्ति उत्कृष्ट अभ्यास र अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिइएको विज्ञप्तिमा उल्लेख छ ।
राजदूत भण्डारीले व्यापार, पारवहन र सम्पर्क सञ्जालका क्षेत्रमा सम्भाव्यताको खोजी तथा दुवै देश र जनतालाई लाभ हुने गरी ऊर्जा सहयोगमा केन्द्रित रहेर छलफल गरेका थिए ।
भारतीय प्रसारण लाइनमार्फत नेपालबाट ४० मेगावाट बिजुली निर्यातका सन्दर्भमा उनले द्विपक्षीय साझेदारीमा जोड दिएका हुन् । दुई देशबीच चाँडोभन्दा चाँडो विद्युत् निर्यात सम्झौता कार्यान्वयन हुनुपर्नेमा दुवै पक्षले सहमति जनाएका थिए ।