
काठमाण्डु, १ असोज– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रलाई अझै मजबुत बनाउनका लागि संविधानमा संशोधन गर्न सकिने धारण राखेका छन ।
गत असार १७ गते (कांग्रेस–एमाले) बीच संविधान संशोधनलगायत विषयमा सात बुँदे सहमति भएकोतर्फ लक्ष्य गर्दै सभापति देउवाले लोकतन्त्र बलियो बनाउने गरी संविधानमा सुधार गर्न सकिने बताएका छन ।
आज (मंगलबार) कांग्रेस कानुन विभागले सानेपामा गरेको संविधानको एक दशक कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन । उनले भने, ‘ओलीजी प्रधानमन्त्री हुँदाखेरि उहाँले संविधानमा संशोधन गर्ने कुरा भन्नु भएको छ।
त्योचाहिँ प्रजातन्त्रको खिलापमा होइन। प्रजातन्त्रलाई अझै मजबुत बनाउने किसिमले संविधानमा सुधार हुने गरी संविधान संशोधन हुन सक्दछ, कार्यान्वयन र चुनौती विषयक अन्तर्क्रियामा सभापति देउवाले भने ।
उनले कांग्रेस र एमाले प्रजातन्त्रका लागि लडेको पार्टी भएको पनि बताएका छन । उनले भने, ‘ओलीजीलाई मैले पहिलो पटक जेलमा भेटेको हो। प्रजातन्त्रका लागि हामी विद्यार्थी हुँदादेखि नै लड्दै आएको हो, जेलनेल भोगेको पार्टीहरू हो ।
त्यसैले प्रजातन्त्रको खिलापमा कुनै पनि काम हुन सक्दैन,’ देउवाले भने, ‘प्रजातन्त्रलाई कसरी मतबुत बनाउने र जनताकाप्रति कसरी जबाफदेही बनाउने भन्ने कुरा आवश्यक छ।’ उनले प्रदेशको संरचना बनिसकेकोले यो हट्ने अवस्था नरहेको बताएका छन ।