जनताको नैराश्य रोक्न दुई ठुला दल मिलेर सरकार बनाइयो: उपप्रधानमन्त्री सिंह

काठमाण्डु टुडे २०८१ असोज १ गते १६:०६ मा प्रकाशित

काठमाण्डु, १ असोज– उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतामा भएको नैराश्य रोक्न दुई ठुला दल मिलेर सरकार बनाएको दाबी गरेका छन ।

आज (मंगलबार) धनगढी उपमहानगरपालिको–१०औँ स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन । उनले भने, ‘८र९ महिनामा सरकार परिवर्तन हुँदा कामले गति लिन सकेन ।

सरकार नै टिक्दैन, के काम हुन्छ भनेर जनतामा नैराश्य थियो । त्यसलाई रोक्न यो सरकार बनेको हो ।’उपप्रधानमन्त्री सिंहले स्थिर सरकार नहुँदा जनअपेक्षा अनुसार काम हुन नसकेको पनि बताएका छन ।

उनले अर्थतन्त्रमा आएको मन्द गतिलाई लयमा फर्काउन सरकार लागिरहेको पनि बताएका छन । उनले संविधान जारी भइसकेपछि कार्यान्वयनमा आएका अप्ठ्यारालाई सहज गर्न आवश्यक ठाउँमा संशोधन गर्न कांग्रेस र एमालेबिच सहमति भएको बताएका छन ।

उपप्रधानमन्त्री सिंहले सबै राजनीतिक दल मिलेर संविधान निर्माण गरेको बताउँदै संविधानमा भएका जनताका अधिकार खोसिन लागेको भन्ने कुरा गलत भएको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us