
काठमाण्डु, १ असोज– मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव भएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ ।
कोशी र बाग्मती प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक– दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मैसम विज्ञान पूर्वअनुमान महाशाखाले जानकारी दिएको छ । आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने पनि महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेशका तराई भूभाग तथा मधेस प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको सम्भावना रहेकोले त्यस क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।