रास्वपा सकिएको होइन, बरु अरूलाई सक्काउँछः लामिछाने

काठमाण्डु टुडे २०८१ असोज १ गते १२:२६ मा प्रकाशित

काठमाण्डु, १ असोज– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कतिपयले रास्वपा सकिएको भनेर टिप्पणी गर्ने गरेपनि रास्वपा नसकिएको बरु रास्वपाले अरूलाई सक्काउँने दाबी गरेका छन ।

आज मंगलबारबाट काठमाण्डुको कमलादीमा सुरु भएको पार्टीको दुई दिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन । उनले पार्टी स्थापनाको छोटो समयमा हुनुपर्ने र नपर्ने घटनाका चाङमाथि रास्वपा उभिएको भन्दै कुनै न कुनै समस्याले नछोडेको पनि बताएका छन ।

सभापति लामिछानेले भने, ‘हाम्रो आगमन नै अरूका लागि समस्या भयो त हामी के गरौँ ?’ रास्वपाले दुई तिहाइको नेतृत्व नगरेसम्म यी समस्या आइरहन्छन् ।’ उनले सानो लडाइका लागि नआएको भन्दै रास्वपामाथिको आक्रमण पनि ठुलै हुने गरेको र २०७९ को चुनाव निम्तो कार्डमात्र भएको पनि बताएका छन ।

उनले मुलुकमा कुनै ठुलो विपत्ति नपरीकनै दुई ठुला दल मिलेर सरकार बनाउनुपर्ने कुनै कारण नभएको बताएका छन । उनले भने, ‘रास्वपा सकिएको होइन, रास्वपाले सकाउँछ । लडाई बल्ल सुरु हुदैछ, ‘हामीले लड्ने लडाईमा कसैको सिउँदो पुछिदैन । शान्त विद्रोह गर्छौ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us