मलाई नंग्याउने नाममा मुलुकको पत्रकारिता ननंग्याउनुस्ः रवि लामिछाने

काठमाण्डु टुडे २०८१ असोज १ गते ११:३७ मा प्रकाशित

काठमाण्डु, १ असेज-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नेपाली पत्रकारिता निर्लज्ज बनेको आरोप लगाएका छन् । पार्टीको पहिलो राष्ट्रिय भेलाको मंगलबार राजधानीमा उद्घाटन गर्दै उनले आफूलाई नंग्याउने नाममा पत्रकारितालाई ननंग्याउन आग्रह गरे । देशको पत्रकारिता जोगाउन उनको आग्रह थियो ।

‘यो देशको पत्रकारिता जोगाउनुस् । मलाई नंग्याउने स्वार्थमा आफू ननांगिनुस् । पत्रकारिता यति निर्लज्ज हुनुहुँदैन,’ लीमिछानेले भने । संसदीय समितिले दिएको निष्कर्षमा कतिपयलाई चित्त नबुझेको भन्दै लामिछानेले उनीहरुले चाहेअनुसार संसदीय समितिले प्रतिवेदन नदिएपछि सहकारीबाट प्रसंग गोर्खा मिडियातिर मोडिएको उल्लेख गरे । सहकारीको पैसा गोर्खा मिडियामा ल्याउन आफ्नो भूमिका नरहेको संसदीय समितिले पनि स्पस्ट गरेपछि कतिपयलाई स्वीकार्न गाह्रो भएको टिप्पणी लामिछानेले गरे ।

रास्वपाको हस्तक्षेप कसैलाई आक्षेप लगाउन नभई नागरिकको अवस्था परिवर्तनका लागि भएको भन्दै उनले राजनीतिको नाममा मौलाएका विकृति/विसंगतिको विरोध गर्दा कसैलाई आक्षेप लाग्छ भने आफूहरूको भन्नु केही नरहेको बताए ।

राजनीतिमा आफूहरुको आगमन नै अरूका लागि टाउको दुखाइको विषय बनेको र रास्वपाले बहुमत नल्याउँदासम्म टाउको दुखिरहने लामिछानेले उल्लेख गरे । रास्वपा सकियो कुप्रचार भइरहेको भए पनि दुई ठूला दल कांग्रेस र एमाले आफूहरुकै कारण सरकार बनाउन मिल्नुपर्ने बाध्यतामा पुगेको दाबी उनले गरे । रास्वपा सकिएको नभई फैलँदै गएको उनको भनाइ छ ।

रवि लामिछानेलाई लडाउन सके रास्वपा सकिन्छ भन्ने कतिपयलाई लागेको उनले बताए ।

‘रवि नभए पनि रास्वपा अब अभियानका रुपमा अगाडि बढ्छ । घण्टी चुनाव चिह्न मतपत्रमा कहिल्यै नमेटिने गरी बसिसक्यो, कसले हटाउन सक्छ ? रास्वपालाई हराउने, लडाउने भनेको चुनावमा मात्रै हो, विरोधीले सक्दो तयारी गरुन् । दुई दल मिलेर दुई तिहाईको सरकार बनाउनु भएको छ । जनताको पक्षमा काम गरेर हाम्रो आवश्यकता र औचित्यलाई गलत सावित गरिदिनुस्,’ लामिछानेले भने ।

फरक प्रसंगमा लामिछानेले बाहिरको प्रहार जति पनि खेप्ने भन्दै पार्टीभित्रबाट प्रहार नगर्न आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us