काठमाण्डु, १ असोज– प्रधानमन्त्री केपी ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच संयुक्त राष्ट्रसंघको ७९औं महासभाका क्रममा भेट गराउन नेपाली पक्ष सक्रिय भएको छ ।
अमेरिकाको न्यूयोर्कमा सुरु भइसकेको महासभामा सहभागी हुन ओली ४ असोजमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ उड्ने तयारीमा छन् । आफ्नो अमेरिका भ्रमण र राष्ट्रसंघ महासभामा सम्बोधन गर्ने एजेण्डाबारे ओलीले सोमबार प्रतिनिधिसभा बैठकलाई जानकारी गराएका थिए ।
आगामी साताको बिहीबार (२२ सेप्टेम्बर) न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले आयोजना गर्ने ‘समिट अफ द फ्युचर’ का अवसरमा ओली–मोदी भेटको चाँजो मिलाउन नेपालले भारतीय अधिकारीहरुलाई आग्रह गरेको छ ।
राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले भारतका स्थायी प्रतिनिधि पार्वथनेनी हरिशसँग गत साता न्यूयोर्कमा भेटेका थिए । भेटको उद्धेश्य ओली–मोदी भेट गराउने प्रयास रहेको परराष्ट्र मन्त्रालय श्रोतले जनाएको छ । त्यस क्रममा थापाले ओली र मोदीको भेटका लागि वातावरण बनाइदिन हरिसलाई आग्रह गरेका थिए । यद्यपि हरिसले स्पष्ट जवाफ दिएका छैनन् ।
मोदी २१ सेप्टेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडेनको गृहनगर डेलावेयरमा हुने चतुर्पक्षीय सुरक्षा संवाद शिखर सम्मेलनमा सहभागी भएर २२ सेप्टेम्बरमा न्यूयोर्क पुग्ने तालिका छ ।
ओलीले यसअघि पनि भारत भ्रमणमा बोलाउन काठमाण्डु आएका विदेशमन्त्री एस जयशंकरमार्फत मोदीलाई खबर पठाएका थिए । तर, मोदीले ओलीलाई नभई परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बोलाए ।
विगतदेखि नै ओलीले दिने भारतविरोधी अभिव्यक्तिका कारण ओली–मोदी सम्बन्ध राम्रो छैन । सोमबार प्रतिनिधिसभामा बोल्दै ओलीले नेपाल छुद्र र जाली छिमेकी होइन, असल छिमेकी र छिमेकीको हित चिताउने छिमेकीको पक्षमा रहेको बताएका थिए ।