धनराज गुरुङले श्रीमतीसँग नक्कली सम्बन्ध विच्छेद गरेका रहेछन्, अनुसन्धान गर्न सिफारिस गरेका छौंः दाहाल

काठमाण्डु टुडे २०८१ भदौ ३१ गते २१:०६ मा प्रकाशित

काठमाण्डु, ३१ भदौ– सहकारी संस्था बचत अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय छानबिन विशेष समिति सदस्य सांसद लेखनाथ दाहालले काँग्रेस उपसभापति धनराज गुरुङलाई कारबाही सिफारिस गरेको बताएका छन् ।

समितिले सोमबार प्रतिनिधिसभामा पेस गरेको प्रतिवेदनमा गुरुङलाई कारबाही सिफारिस गरेको दाहालले बताए ।

समितिले गोर्खा मिडिया नेटवर्कमा विभिन्न ६ सहकारीबाट आएको ६५ करोड रुपैयाँ रकम चलाएको निस्कर्षसहित रास्वपा सभापति रवि लामिछानेलाई कारबाही सिफारिस गरेको छ ।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले गुरूङको विषयमा निष्कर्षमा पुग्न बाँकी रहे पनि अनुसन्धान गरी कारबाही गर्न सरकारलाई सिफारिस गरेको जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा आर्थिक अपचलनमा संलग्नता देखिएको दाहालको भनाइ थियो । यस्तै गुरुङले श्रीमती ज्योतिसँगको सम्बन्ध विच्छेद कानुनसम्मत भए पनि नक्कली रहेको दाहालले उल्लेख गरे ।

‘२०७६ सालमा उहाँले सम्बन्ध विच्छेद गर्नुभएको छ । फेरि २०७७ सालमा श्रीमतीलाई साक्षी राखेर ऋण लिनु भएको छ’, दाहालले भने, ‘केही समयअघि श्रीमतीको ऋणको किस्ता पनि तिर्नुभएको देखिन्छ । तार्किक निष्कर्षमा पुग्न थप अनुसन्धान गर्न बाँकी छ । थप अनुसन्धान गर्न हामीले नेपाल सरकारलाई सिफारिस गरेका छौं ।’

ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरूङले धनराज र उनकी पूर्वपत्नी ज्योतिले सहकारीको १४ करोड ८१ लाख रूपैयाँ अपचलन गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) मा उजुरी गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us