
काठमाण्डु, ३१ भदौ– प्रधानमन्त्री केपी ओलीले छिमेकी मुलुकहरुलाई नेपालको हित चिताउन आग्रह गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा सोमबार सम्बोधन गर्दै ओलीले नेपालले छुद्र र जाली नभई असल छिमेकीको व्यवहारको अपेक्षा गरेको बताए ।
नेपाल सार्वभौमसत्ता सम्पन्न र स्वाधीन राष्ट्र भएको चर्चा गर्दै ओलीले राष्ट्रहितको रक्षा, सम्वद्र्धन तथा राष्ट्रिय हितलाई तलमाथि हुन नदिने कुरामा प्रतबिद्ध रहेको उनको भनाइ थियो । ‘नेपाल एउटा सार्वभौमसत्ता सम्पन्न र स्वाधीन राष्ट्र हो ।
यसको आफ्नो राष्ट्रिय गौरवलाई माथि उठाउने छ अझ र आफ्ना जायज राष्ट्रिय हित र अन्तर्राष्ट्रिय उत्तरदायित्वभित्र रहेर पूरा गर्ने कुरामा, रक्षा गर्ने कुरामा, सम्वद्र्धन गर्ने कुरामा राष्ट्रिय हितलाई तलमाथि पर्न नदिने कुरामा नेपालको प्रतिबद्धता छ’, ओलीले भने, ‘ नेपाल असल छिमेक सम्बन्ध कायम गर्ने कुरामा छुद्र, जाली जाली छिमेकी होइन । असल छिमेकीको रुपमा, छिमेकीको अहित चिताउने छिमेकीको रुपमा होइन, छिमेकीको हित चिताएर काम गर्ने छिमेकीको रुपमा बस्न चाहन्छ र त्यस्तै व्यवहार छिमेकीहरुबाट पनि चाहन्छ ।’
ओलीले नाम उल्लेख नगेर पनि उनको संकेत दक्षिण छिमेकी भारततिर रहेको बुझ्न गाह्रो छैन । विगतमा उनले भारतलाई लक्षित गरी दएको ‘सत्य मेव जयते कि सिंह मेव जयते’ भन्ने अभिव्यक्ति विवादित बनेको थियो ।
पछिल्लो समय पनि उनको भारतसँगको सम्बन्धमा सुधार भएको छैन । प्रधानमन्त्री भए लगत्तै ओलीले आफूलाई भ्रमणमा बोलाउन गरेको आग्रह भारतले अस्वीकार गरेको थियो ।
नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस जयशंकरलाई उनले आफूलाई भारत भ्रमणमा बोलाउन भनेका थिए । तर, जयशंकर भारत फर्किलगत्तै ओलीलाई नभई परराष्ट्रमन्त्री आरजु राणालाई दिल्ली बोलाइएको थियो ।