ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

काठमाण्डु टुडे २०८१ भदौ ३१ गते १८:२९ मा प्रकाशित

काठमाण्डु, ३१ भदौ– प्रहरीले ललितपुर महानगरपालिका वडा नम्बर–८ सौगलबाट नक्कली नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–३ घर भएर भक्तपुर बस्दै आएका रमेश रोक्का रहेको प्रहरीले जानकारी दिएको छ । ३१ वर्षीय रोक्काको साथबाट १ हजार दरका ११५ वटा नक्कली नेपाली नोट बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिएका छन ।

सौगलमा कोठा भाडामा लिएर आरोपीले नक्कली नोट बनाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको प्रहरीले जानकारी दिएको छ । उनको डेरामा नोट बनाउन प्रयोग गरिने फोटोकपी मेशिन पनि भेटिएको एसपी सुवेदीले जानकारी दिएका छन ।

आरोपीविरुद्ध प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us