रवि लामिछानेले निर्दोष छु भन्दै हिँड्न मिल्दैन: कांग्रेस

काठमाण्डु टुडे २०८१ भदौ ३१ गते १८:०७ मा प्रकाशित

काठमाण्डु, ३१ भदौ– काङ्ग्रेस प्रवक्ता एवं सांसद डा.प्रकाशशरण महतले सहकारीको पैसाबाट गोरखा मिडिया सञ्चालन भए पनि दोषी होइन भनेर हिँड्न नमिल्ने बताएका छन ।

आज (सोमबार) प्रतिनिधि सभाको बैठक पश्चात् उनले तलब भत्तादेखि सबै कुरा सहकारीको पैसाबाट चलाएकाले यस्तो अवस्थामा आफूलाई निर्दोष भन्नु मान्य नहुने पनि बताएका छन ।उनले भने, ‘सूर्य थापाले स्पष्ट के भन्नुभयो भने गोरखा मिडिया प्रालिले ८५ करोड रुपैयाँ सहकारीहरूबाट लिएको छ ।

भनेपछि गोरखा मिडिया प्रालि नै सहकारीको पैसाबाट चलेको रहेछ भन्ने कुरा स्पष्ट हुन्छ । उहाँको तलब भत्तादेखि सबै कुरा सहकारीको पैसाबाट चलेको रहेछ । त्यहाँको जिम्मेवारी तहमा रहँदा पनि पैसा आएको छ । लिनै नमिल्ने पैसा लिएर सञ्चालन गर्नु भएको छ । यति हुँदा पनि दोषी होइन भनेर घोषणा गर्दै हिँड्नुहुन्छ भने त्योभन्दा गैर जिम्मेवार कुरा अरू हुन सक्दैन ।’

यसको साथै उनले सभामुखले प्रतिवेदनमा आएका कुराहरूलाई मध्यनजर गरेर कार्यार्थ गर्न निर्देशन दिएको अवस्थामा रवि लामिछानेले क्लिन चिट नपाएको पनि उनले बताएका छन ।

उनले भने, ‘प्रतिवेदन बुझाएपछि सभामुखले सरकारले प्रतिवेदनमा आएका कुराहरूलाई मध्यनजर गरेर निर्देशन दिएको अवस्थामा कसरी रवि लामिछानेले क्लिन चिट पाउनुभयो त्यो मलाई थाहा छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us