
काठमाण्डु, ३१ भदौ– ग्यालेक्सी फोर के टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कले १० महिनादेखि घरभाडा नतिरेको खुलेको छ । भाडा नतिरेपछि घरधनीले घर खाली गर्न महानगरमा निवदेन समेत दिएका छन । मृगेन्द्रप्रसाद मिश्रको घरमा गोर्खा मिडियाले २५ भदौ २०७७ मा १० वर्षका लागि मासिक २ लाख ५० हजार रुपैयाँ घरभाडा तिर्ने गरी सम्झौता गरेको थियो ।
मिडियाका तत्कालीन अध्यक्ष छविलाल जोशीले घरधनीसँग भाडा सम्झौता गरेका थिए । पछि सञ्चालक फेरिएर गितेन्द्र बाबु (जीबी) राईले पुनः सम्झौता गरेका थिए । राई र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने सहितले काठमाण्डु महानगर–३ बालुवाटारमा मृगेन्द्रप्रसाद मिश्रको घर टेलिभिजन सञ्चालनका लागि भाडामा लिएका थिए ।
टेलिभिजनका तर्फबाट जीबी राई र घरधनी मिश्रले मात्रै हस्ताक्षर गरेका थिए । मिश्रका अनुसार पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछानेले पनि घर भाडाका लागि घरधनी मिश्रसँग कुराकानी गरेका थिए । ‘उहाँ (रवि) जत्तिको मान्छे प्रबन्ध निर्देशक भएको ठाउँमा विश्वास गरेर घर भाडामा दिइयो, अहिले तनाव भएको छ’, मिश्र भन्छन् । मंसिर २०८० सम्म मिडियाले नियमित घरभाडा बुझाउँदै आएको थियो ।
नियमित भाडा आउन छाडेपछि घरधनीले १६ जेठमा घरबेटीले महानगरपालिकाको वडामा उजुरी दिएका थिए । उक्त उजुरी वडाबाट कार्यान्वयन हुन नसकेपछि २ साउनमा महानगरपालिकामा पठाइएको थियो । त्यसपछि महानगरपालिकाको न्यायीक समितिमा ७ साउनमा घरबेटी वादीका रूपमा राखेर मुद्दा दर्ता भएको थियो ।
मुद्दा दर्ता भएपछि काठमाण्डु महानगरपालिकाले ८ साउनमा ७ दिनको सूचना घरमा टाँस्यो । गोरखा मिडियाको नाममा पत्र पनि काट्यो । त्यसपछि गोरखा मिडियाले चलाइरहेको ग्यालेक्सी फोरके टीभी रहेको घरमा सूचना टाँस गर्दा पनि टीभीका कोही पनि सम्पर्कमा आएका छैनन् ।