
काठमाण्डु, ३१ भदौ– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त घोषणा भइसकेका सहकारीहरू अब पुनः सञ्चालनमा आउन सक्ने सम्भावना क्षीण रहेको निष्कर्षमा पुगेको छ ।
सूर्य थापा नेतृत्वको समितिले यस्ता सहकारीको हरहिसाब फरफारक गर्न विज्ञ र चार्टर्ड एकाउन्टेन्टसहितको कार्य समूह बनाइ त्यसैमार्फत सम्पत्ति र दायित्वको फरफारक गर्नेदेखि पुनर्सञ्चालन वा खारेजीसम्मको अधिकार दिन सरकारलाई सिफारिस समेत गरेको छ ।
त्यस्ता सहकारीका बचतकर्ताको बचत फिर्ता गर्न सहकारी संस्थाहरूको संस्थागत सम्पत्ति तथा त्यसका सञ्चालक एवम् संलग्न व्यक्तिहरूको तत्काल सम्पत्ति रोक्का गर्ने, सञ्चालक एवम् सम्बन्धित व्यक्तिहरूको सम्पत्तिको लगत तयार गर्ने लगायतका सुझाव समितिले सरकारलाई दिएको छ ।