सहकारीको ६५ करोड गोर्खा मिडियामा अपचलन

काठमाण्डु टुडे २०८१ भदौ ३१ गते १७:२३ मा प्रकाशित

काठमाण्डु, ३१ भदौ– संसदीय छानबिन विशेष समितिले सूर्यदर्शन सहितका ५ वटा सहकारीको ६५ करोड रकम गोर्खा मिडियामा अपचलन भएको दाबी गरेको छ । साथै गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई प्रलचित कानुन बमोजिम कारबाही गर्न सिफारिस समेत गरेको छ ।

आज सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा समिति सभापति सूर्य थापाले प्रतिवेदन पेश गरेका थिए । लगत्तै सभामुख देवराज घिमिरेले आवश्यक कार्यान्वयनका लागि सरकारलाई पठाउन संसद सचिवालयलाई निर्देशन दिएका छन् ।

२०८० फागुन तेस्रो साता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रचण्ड सरकारमा उपप्रधान तथा गृहमन्त्री भएपछि नेपाली कांग्रेसले सहकारीको मुद्धा उठाएको थियो ।

सहकारीको रकम गोर्खा मिडियामा भएको अपचलनमा लामिछाने संलग्न रहेको, तर उनी गृहमन्त्री भएपछि प्रहरीको छानबिन रोकिएको भन्दै कांग्रेसले लगातार संसद अवरुद्ध गरेपछि १५ जेठमा संसदीय छानबिन समिति बनेको थियो ।

समितिलाई संकटग्रस्त घोषणा भएका सहकारीहरुका साथै जीबी राई समूहले सञ्चालन गरेको स्वर्णलक्ष्मी, सुप्रिम, सूर्य दर्शन, साहारा लगायतका सहकारीको रकम गोर्खा मिडियामा भएको अपचलनबारे छानबिन गर्ने कार्यदेश दिइएको थियो ।

संसदीय विशेष समिति सभापति थापाका अनुसार ५५ जनासँग सोधपुछ गर्नुका साथै ४० वटा सहकारीको वित्तीय विश्लेषण गरेर प्रतिवेदन तयार पारिएको छ । सहकारीको रकम गोर्खा मिडियामा अपचलन भएको विषयमा ८ वटा सुझाव दिइएको छ । जीबी राई समूहले सञ्चालन गरेका ७ मध्ये ५ वटा सहकारीबाट गोर्खा मिडियामा २ अर्ब ५६ करोड रुपैयाँ कारोबार भएको पाइएको छ ।

यसमध्ये ६५ करोड रुपैयाँ सहकारीको रकम अपचलन भएको समितिको निष्कर्ष रहेको स्रोतले जानकारी दिएको छ । समितिका अनुसार पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाण्डुको स्वर्णलक्ष्मी, चितवनको सहारा र वीरगञ्जको सानो पाइला सहकारीबाट सहकारी कानुन विपरित गोर्खा मिडिया नेटवर्कमा रकम प्रवाह भएको छ ।

यसमा सहकारी सञ्चालक एवं निर्णय प्रक्रियामा संलग्न सबैलाई कानुन बमोजिम कारबाही गर्न सिफारिस गरिएको छ । समिति सदस्य शिशिर खनालका अनुसार सहकारीबाट गोर्खा मिडियामा रकम लैजान रवि लामिछानेको भूमिका देखिएको छैन । तर सहकारीबाट गैरकानुनी रुपमा ल्याएको रकम प्रबन्ध निर्देशकका रुपमा रविमार्फत खर्च भएको छ ।

रवि गोर्खा मिडियामा सञ्चालकसँगै प्रवन्ध निर्देशक दिए । उनी प्रबन्ध निर्देशक रहेको १४ महिनाको अवधिमा एउटाबाहेक सबै चेकमा रविले नै हस्ताक्षर गरेको पाइएको छ । त्यसैले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमार्फत भएको अपचलनमा भने लामिछानको संलग्नता रहेको समितिको निष्कर्ष रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us