
काठमाण्डु, ३१ भदौ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको पुष्टि गरेका छन ।
आज सोमबार बसेको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले यस्तो दाबी गरेका हुन । उनले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन अनुसार आफू सहकारी ठगीमा संलग्न नभएको पुष्टि भएको बताएका छन ।
उनले सहकारीबाट गोर्खा मिडियामा आएको पैसा चलाउने क्रममा आफू प्रबन्ध निर्देशक भएको नाताले हस्ताक्षर भने आफ्नै चलेको बताएका छन । उनले गोर्खा मिडिया सञ्चालनका क्रममा भएका कमी, कमजोरीहरूको भने आफू भागिदार हुने पनि बताएका छन । सभापति लामिछानेले भने, ‘अझै पनि भाष्य निर्माण गर्नलाई त्यहाँबाट गएको पैसा त्यसले चलाएको हो नि भनेर भनिएको छ ।
मैले आएको पैसाको त्यहाँ आन्तरिक प्रशासन चलाउन त्यहाँ चेक नकाटेर एमडीले घाँस काट्ने कुरा आउँदैन नि त । चेक नै काट्ने होला नि । जुन कुरामा लाञ्छना लागेको थियो त्यो कुरामा समितिले स्पष्ट पारेको छ ।’
बाँकी प्रचलित कानुन अनुसार कहीँ कतै गडबड गरेको भए सजायको भागिदार हुनुपर्छ नि । गोर्खा मिडिया सञ्चालनका क्रममा म बाट गलत भएको रहेछ भने कसैले ल्याएको पैसा सञ्चालन गर्ने क्रममा मबाट गल्ती, कमजोरी भएको रहेछ । प्रचलित कानुनका समस्या आएका रहेछन् ।
कहीँ करका कुरा होलान् के होलान् । त्यसको भागिदार हुनुपर्छ भन्ने कुरामा त भनिहाल्यौँ । त्यस कारणले हामीले सहमति गरेर हस्ताक्षर गर्यौँ । नत्र नोट अफ डिसेन्ट लेख्छौँ ।
आफ्नो कार्यकालमा भएका चिजहरू दुरुपयोग भए कि भएनन् भन्ने कुराको कानुन बमोजिमको जबाफदेहिता दिनुपर्छ भन्ने कुराको कुराबाट भाग्ने मान्छे हामी होइनौँ । सहकारी ठगीमा मेरो संलग्नता नभएको कुरा स्पष्ट भएको छ । पुष्टि भएको छ,’ उनले थपे ।