पर्यटन र नागरिक उड्डयन क्षेत्र सुधारको लागि उच्चस्तरीय अध्ययन समिति बनाउँछौँः पर्यटनमन्त्री पाण्डे

काठमाण्डु टुडे २०८१ भदौ ३१ गते १६:२५ मा प्रकाशित

काठमाण्डु, ३१ भदौ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन र नागरिक उड्डयन क्षेत्र सुधारको लागि उच्चस्तरीय अध्ययन समिति बनाउने बताएका छन ।

आज सोमबार मन्त्रालयमा पत्रकारहरूसँगको छलफलमा मन्त्री पाण्डेले यस्तो बताएका हुन । उनले नागरिक उड्डयन र पर्यटन क्षेत्रको सुधार गर्न आवश्यक देखिएकाले उच्च अदालतमा पूर्वप्रमुख न्यायाधीशको संयोजकत्वमा समिति गठन भइसकेको पनि बताएका छन । उनले प्राविधिक कारणले ढिलाइ भइरहेको भन्दै चाँडै समितिको विषय मन्त्रीपरिषदबाट पारित हुने बताएका छन ।

उनले उच्चस्तरीय पर्यटन सुधार समितिले नागरिक उड्डयन क्षेत्रमा अहिलेसम्म भएका अध्ययनहरूको पुनरावलोकन गर्ने बताएका छन । मन्त्री पाण्डेले पुराना अध्ययनको पुनरावलोकन मात्रै नभएर अहिलेको सिस्टमको पनि अध्ययन गरी सरकारलाई सुझाव दिने पनि बताएका छन । उनले मन्त्रालयले पनि तारागाउँ विकास समितिका समस्या समाधानको लागि पनि मन्त्रीस्तरीय अध्ययन समिति बनाउने बताएका छन । उनले उक्त समितिले पनि हातयात होटलसँग भइरहेका कामहरू ठिक बेठिकका सन्दर्भमा पनि अध्ययन गर्ने बताएका छन ।

उनले यस्ता अध्ययन समितिले विगतमा भएका अध्ययनहरूलाई समेत आधार बनाउँदै अहिलेको अध्ययन निचोडमा पुग्ने र मन्त्रालयको नेतृत्व परिवर्तन भएपनि अध्ययनले देखाएका कामहरू निरन्तर भइरहेन वातावरण बनाउने योजनामा मन्त्रालय रहेको दाबी गरे । मन्त्री पाण्डेले भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सुचारु गर्नको लागि दिने भनिएका सबै प्रकारका सहुलियत दिने निर्णय भइसकेको बताए ।

उनले हवाई इन्धन उद्योग मन्त्रालय र पर्यटन बोर्डले लिने शुल्क लगायतमा निर्णय भइसकेको भन्दै चाँडै सबै प्रक्रिया पूरा हुने बताएका छन । उनले टिकटमा लागेको भ्याटको सन्दर्भमा बजेटमा समावेश भएर आएकाले अब के गर्न सकिन्छ भन्ने सन्दर्भमा अर्थमन्त्रीले छलफल गरिरहेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us