
काठमाण्डु, ३१ भदौ– आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले कार्यादेशअनुसार तयार पारेको प्रतिवेदन संसद्लाई बुझाएका छन् । उनले समितिमा परेका उजुरीका आधारमा समस्याको जरैदेखि तथ्य जानकारी लिएर सम्पादन गरेको बताएका छन ।
थापाले त्यसक्रममा ५६ वटा बैठक बसेको र पछिल्लो बैठकमा प्रधानमन्त्री आफै उपस्थित भएर सहकारी समस्या समाधानमा प्रतिबद्धता समेत जनाएको बताएको छ । उनले ४५१ जनासँग छलफल गरेको, ४७ जना सहकारी सञ्चालकसहित अन्य ८ जनासहित ५५ जनासँग सोधपुछ गरेको बताएका छन ।
प्रतिनिधिसभाको जेठ १५ गते बसेको बैठकले (एमाले) सांसद सूर्य थापाको नेतृत्वमा विशेष समिति गठन गरेको थियो । समितिमा एमालेबाट सरिता भुसाल, नेपाली काङ्ग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, नेकपा (माओवादी केन्द्र) बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।
समितिले ४० वटा सहकारीको वित्तीय विश्लेषण गरेको सभापति थापाले संसद्लाई जानकारी गराएका छन् । उनले कार्यादेशमा रहेर महत्त्वपूर्ण १४ वटा सुझाव पेस गरेको भन्दै सहकारी क्षेत्र धर्मराए पनि प्रचुर सम्भावना रहेको बताएका छन । उनले भने, ‘चुनौतीलाई हल गर्दै सुधारमार्फत सहकारीलाई पुनजर्गेना गर्न जरुरी छ ।
यसका लागि सबैको सहयोग आवश्यक छ, संविधानले गरेका प्रतिबद्धता बमोजिम सहकारी क्षेत्रलाई माथि उठाउन हामी सबै लागे सम्भव छ ।’ उनले सहकारी क्षेत्रमा ‘फेक’ ऋणी कायम गर्ने प्रवृत्ति रहेको भन्दै कानुनविपरित हुने काम बन्द गर्न सक्नुपर्नेमा जोड दिएका छन् । प्रतिवेदनले सिफारिस गरेका विषयहरू सरकारलाई कार्यान्वयनमा लैजान संसदबाटै निर्देशन दिन सभापति थापाले माग गरेका छन ।