
काठमाण्डु, ३१ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख इन्दिरा रानामगरको विषय अनावश्यक उचालिएको बताएका छन । आज सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले कतै उठ्दै नउठेको विषयमा अनावश्यक टिप्पणी भएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘उठ्तै नउठेका कुराहरुमा, प्रस्तावै नआएका कुरामा छलफल कसरी चलेको हो त्यो मैले बुझेको छैन । ’ प्रधानमन्त्री ओलीले उपसभामुखको नाम त लिएनन् । तर गत हप्ता बालुवाटारमा सत्तारुढ गठबन्धनको छलफलमा उनी आफैंले उपसभामुखको विषय उठाएका थिए ।
उपसभामुख रानाले सन् २०२३ मा संयुक्त राष्ट्रसंघको एक कार्यक्रममा भाग लिन आफू अमेरिका जाँदा सँगै जानेहरुलाई भिसा सहजीकरण गरिदिन भन्दै अमेरिकी दूतावासमा पत्र लेखेको विषय सार्वजनिक भएको थियो । सोही विषयलाई लिएर उनीमाथि प्रश्न उठेको थियो । कांग्रेसले पनि उपसभामुखले पद अनुकुलको आचरण नगरेको भन्दै राजीनामा माग गरेको थियो ।
सोमबार प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा उठेका प्रश्नबारे बालुवाटार बैठकमा छलफल भएको संकेत गरे । उनले प्रश्न गरे, ‘उठेका विषयमा कहिँ कसैले कुरा गरे रे भनेर के कुरा गर्यौ, किन कुरा गर्यौ भन्ने, ए बाबा कस्तो हो, संसदमा कुरा उठ्छ, के रहेछ भनेर सोध्न पनि नआउने ?’
उपसभामुखको कुरा उठ्दा जातीयता र लिंगीय विभेदका कुरा उठाएर गालीगलौच गरिएको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गरेका छन । उनले भने, ‘हामी बोलौं आलोचना गरौं, तर भाषाको पनि सीमा हुन्छ, हामी सभ्य नेपाली समाजका छानिएका सभ्य प्रतिनिधि हौला, हाम्रो क्रियाकलापमा, हाम्रा बोली व्यवहारमा समाजले नमुनाको रुपमा, आफ्नो मर्यादा, शिष्टताको प्रतिबिम्ब खोज्ला ।’