
काठमाण्डु, ३१ भदौ– सहकारीको रकम अपचलन छानबिनसम्बन्धी संसदीय समितिका सदस्य शिशिर खनालले सहकारी ठगीमा प्रत्यक्ष रुपमा रवि लामिछाने सहभागी भएको नदेखिएको बताएका छन् ।
सिंहदरबारमा संसदीय विषयमा समाचार लेख्ने पत्रकारहरुसँगको कुराकानीमा खनालले प्रतिवेदनमा लामिछाने दोषी देखिएको र कारबाही सिफारिस गर्ने भन्नेबारे उल्लेख नगरिएको बताए । खनाल रास्वपाका तर्फबाट छानबिन समिति सदस्य छन् ।
‘हामीले अहिलेसम्म छानबिन गर्दा प्राप्त तथ्यहरुलाई नै प्रतिवेदनमा समावेश गरेका छौं । प्रतिवेदनले अन्तिम प्रारुप पाइसकेको अवस्था होइन, अध्ययन गरे कैफियत रहेछ भने सच्याएर पारित गर्छौं’, खनालले भने, ‘रवि लामिछाने दोषी ठहर भएको भनेर स्पष्ट किटान गरिएको छैन । सहकारीबाट रवि लामिछानेले रकम लिएको देखिएको छैन । उहाँ कुनै पनि सहकारीको सदस्य नरहेको देखिएको छ र कुनै पनि सहकारीबाट ऋण लिनका लागि आवेदन दिएको जस्ता विषय समितिलाई प्राप्त भएको छैन ।’
लामिछाने सहकारीसँग प्रत्यक्ष÷परोक्ष रुपमा सम्बन्धित भएर पैसाको कारोबार गरेको नदेखिएको दाबी उनको छ । ‘समितिको निर्णयका रुपमा अन्तिम प्रतिवेदन आएको छैन । हामीले हस्ताक्षर गरेका पनि छैनौं’, उनले भने, ‘बाहिर आएका समाचारहरु नितान्त हल्ला हुन् । अनुमानका आधारमा हल्ला गरिएको हो ।’
तर, समितिका अन्य सदस्यले भने गोरखा मिडिया नेटवर्कको कार्यकारी निर्देशकका हैसियतमा गोरखा मिडिया नेटवर्कमा सहकारीमार्फत आएको रकम खर्च गर्ने कार्यमा संलग्नता देखिएकाले लामिछानेमाथि कारबाहीक सिफारिस गरिएको बताएका छन् ।