रवि लाछिानेलाई सहकारी ठगीमा दोषी देख्ने समिति धनराज गुरुङबारे किन मौन ?

काठमाण्डु टुडे २०८१ भदौ ३१ गते १२:५१ मा प्रकाशित

काठमाण्डु, ३१ भदौ– सहकारीको बचत अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिले काँग्रेस नेता धनराज गुरुङ संलग्न रहेको भनिएको ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको बचत ठगी प्रकरणबारे केही उल्लेख नगर्ने भएको छ ।

समितिले प्रतिनिधिसभा बैठकमा आज प्रतिवेदन बुझाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने गोरखा मिडिया नेटवर्कको तत्कालनि प्रबन्ध निर्देशकका हैसियतमा सहकारीको रकम अपचलनमा दोषी देखिएको ठहरसहित प्रतिवेदन तयार पारेको समितिले गुरुङबारे भने केही उल्लेख गरेको छैन ।

समिति सदस्य एवं राप्रपा सांसद ध्रुवबहादुर प्रधानले गुरुङका विषयमा प्रतिवेदनमा केही उल्लेख नगरिएको बताए । समितिको कार्यादेश (टिओआर) मा गुरुङको विषय उल्लेख नरहेकाले प्रतिवेदनमा नलेखिएको प्रधानले उल्लेख गरे ।

‘धनराज गुरुङको विषयमा पनि अध्ययन गरेको त उल्लेख छ, तर हाम्रो टिओआरमा उहाँको विषय समावेश नभएकाले कारबाही गर्नुपर्ने वा नपर्ने भन्नेबारे केही पनि लेखिएन’, प्रधानले सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँग भने ।

समितिले महालक्ष्मीस्थानमा रहेको कार्यालयमै गएर उक्त सहकारीका पदाधिकारीबारे धनराज र उनकी श्रीमती ज्योती सहकारी ठगीमा संलग्न रहे/नरेहको विषयमा जानकारी लिएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सहकारीका सो सहकारीका सञ्चालक बोधविक्रम थापाले दिएको उजुरीका आधारमा गुरुङमाथि छानबिन गरिरहेको छ ।

ज्योतिसँग २०७६ सालमै सम्बन्धविच्छेद गरिसकेको भन्दै धनराजले सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् । गुरुङकी पूर्वपत्नी ज्योतिले सहकारीको १४ करोड रुपैयाँ ठगी गरेको आरोप सहकारीको पदाधिकारीको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us