
काठमाण्डु, ३१ भदौ– सहकारीको बचत अपचलन छानबिनसम्बन्धी संसदीय समितिका सदस्य लेखनाथ दाहालले विभिन्न सहकारीबाट गोरखा मिडिया नेटवर्कमा
आएको कम खर्च गर्ने प्रक्रियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने संलग्न देखिएको बताएका छन् । सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले जिबी राईले सहकारी ठगी गरी ल्याएको पैसा रवि लामिछानेमार्फत खर्च भएको देखिएको बताए ।
गोरखा मिडिया प्रा.लि.को बैंक खाता जिबी राई, नेपाल प्रहरीका पूर्वडिआईजी छविजोशी र गोरखा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछानेको नाममा सञ्चालित रहेको पाइएको दाहालले उल्लेख गरे । तनि जनाको नाममा खाता भए पनि चेकबुकमा कुनै एक जनाले हस्ताक्षर गर्ने प्रबन्ध मिलाइएकामा रकम निकाशा भएका एउटाबाहेक सबै चेकमा लामिछाने मात्रैले हस्ताक्षर गरिएको पाइएइको उनको भनाइ थियो ।
‘सांसद रवि लामिछाने भन्ने मान्ने हामी चिन्दैनौं । सहकारीको पैसा गोखरा मिडिया प्रालिमा पु¥याउन भरियाका रुपमा बिजी राई संलग्न देखिन्छन् । खर्च चाहिं रवि लामिछानेमार्फत भएको देखिन्छ । १४ महिनाको आर्थिक गतिविधिको जिम्मा माननीय रवि लामिछानेले लिनुपर्छ । किनकी उहाँको नाममा खाता छ । तीन जनाको नाममा संयुक्त खाता छ । एक जनाले सिग्नेचर गर्न मिल्ने भनेर लेखिएको छ । एउटाबाहेक सबै चेकमा रवि लामिछानेले सही गर्नुभएको छ’, दाहालले भने ।
छानबिनका क्रममा गोरखा मिडिया नेटवर्कमार्फत हुने आर्थिक गितिविधि, आर्थिक अपचलनमा लामिछाने दोषी देखिएकाले कानूनअनुसार कारबाहीका लागि समितिले सिफारिस गर्न लागेको दाहालले बताए । यस्तै लामिछानेले गैरकानूनी हिसाबले गोर्खा मिडिया नेटवर्कको ‘स्वीट सेयर’ लिएको बताए । ‘हाम्रो कानूनी व्यवस्था त्यसरी सेयर लिन मिल्ने छैन । कम्पनी रजिष्ट्रार कार्यालयमा भौचर भरेर सेयर लिएको देखिन्छ । गोरखा मिडिया नेटवर्क मार्फत रवि लामिछानेको सहकारीको रकम अपचालनमा संलग्तता देखिएकाले कानूनअनुसार कारबाहीको सिफारिस गर्छौं’, दाहालले भने ।
समितिले प्रतिनिधिसभाको आजको बैठकमा प्रतिवेदन प्रस्तुत गर्दैछ । तत्कालीन उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारी टगीमा संलग्न रहेको आरोप लगाउँदै काँग्रेसले लगातार संसद अवरुद्ध गरेपछि प्रतिनिधि सभाले गत १५ जेठमा एमाले सांसद सूर्यबहादुर थापा सभापति रहेको सहकारी संस्था बचत रकम दुरूपयोगसम्बन्धी संसदीय विशेष छानबिन समिति गठन गरेको थियो ।
तीन महिनाको समय पाएको समितिले समयमै काम गर्न नसकेपछि १५ दिन थप गरिएको थियो । समितिले लामिछानेसँग ९ घण्टा सोधपुछ गरेको थियो । त्यस क्रममा उनले आफू आर्थिक कारोबारमा संलग्न नरहेकाले गोरखा मिडियामा कहाँबाट कसरी पैसा आयो भन्नेबारे बेखबर रहेको बताएका थिए ।