
काठमाण्डु, ३१ भदौ– सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई दोषी ठहर गर्दै प्रतिवेदन तयार पारेको छ ।
समितिले आजको प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेश गर्ने तयारी गरेको छ । समितिले गोर्खा मिडिया प्रालिमा विभिन्न सहकारीको रकम सहकारीको उद्देश्यविपरीत लगानी गरिएको र लाछिमाने त्यसको प्रबन्ध निर्देशक रहेकाले उनी दोषी ठहरिने निस्कर्ष समितिको छ ।
तत्कालीन उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारी टगीमा संलग्न रहेको आरोप लगाउँदै काँग्रेसले लगातार संसद अवरुद्ध गरेपछि प्रतिनिधि सभाले गत १५ जेठमा एमाले सांसद सूर्यबहादुर थापा सभापति रहेको सहकारी संस्था बचत रकम दुरूपयोगसम्बन्धी संसदीय विशेष छानबिन समिति गठन गरेको थियो ।
तीन महिनाको समय पाएको समितिले समयमै काम गर्न नसकेपछि १५ दिन थप गरिएको थियो ।
समितिले लामिछानेसँग ९ घण्टा सोधपुछ गरेको थियो । त्यस क्रममा उनले आफू आर्थिक कारोबारमा संलग्न नरहेकाले गोरखा मिडियामा कहाँबाट कसरी पैसा आयो भन्नेबारे बेखबर रहेको बताएका थिए ।