काठमाण्डु, ३० भदौ–सरकारले आगामी १६ मंसिरमा जनप्रतिनिधि रिक्त भएका स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।
आइतबारको मन्त्रिपरिषद बैठकले १६ मंसिरमा उपनिर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दए ।
त्यसअघि आयोग पदाधिकारीले आइतबार प्रधानमन्त्री केपी ओलीलाई भेटी १६ मंसिरमा सात प्रदेशका गरी विभिन्न ३९ पदमा उपनिर्वाचन प्रस्ताव गरेका थिए । आयोगले तीन स्थानीय तहमा प्रमुखका लागि निर्वाचन हुने जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाण्डुको कीर्तिपुर नगरपालिका, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिकामा प्रमुख पद रिक्त रहेको बताए ।
यस्तै दोलखाको गौरीशंगर, कालिकोटको नलगाड र डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिकामा उपप्रमुख रित्त छ । शुक्रबार बागलुङमा भएको जिप दुर्घटनामा रुकुमपुर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यष भुपेन्द्रा बुढाको निधन भएकाले उक्त स्थानमा पनि सोही मितिमा निर्वाचन गर्न सकिने प्रमुख निर्वाचन आयुक्त थपलिया बताउँछन् ।
निर्वाचन आयोगका अनुसार एक नगरपालिका, दुई गाउँपालिका प्रमुख, दुई जिल्ला समन्वय समिति प्रमुख, चार उपाध्यक्ष, ९ वडाअध्यक्ष गरी ३९ स्थानमा निर्वाचन हुनेछ ।
निर्वचान हुने स्थानीय तहहरुमा झापा, मोरङ, तेह्रथुम, सुनसरी, ओखलढुंगा, उदयपुर, सप्तरी, महोत्तरी, रौतहट, दोलखा, काठमाण्डु, नुवाकोट, मकवानपुर, गोरखा, गुल्मी, रोल्पा, बर्दिया, दैलेख, कालिकोट, जाजरकोट, डोल्पा, हुम्ला, रुकुमपश्चिम, बाजुरा, बझाङ, डोटी, दार्चुला, कैलाली र कञ्जनपुर जिल्लाका छन् ।
ती स्थानीय तहहरुमा मृत्यु, भ्रष्टाचार अभियोग र राजीनामा लगायत कारण जनप्रतिनिधिको रिक्तता भएको आयोगले जनाएको छ ।